राजन रावत
हुम्ला, फागुन २७ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न लिमी पुगेका नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय फिर्ता भएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेर उनीहरू फिर्ता भएका हुन्। जाङ गाउँका ४९ जना स्थानीय एक दिन पैदल र एक दिन गाडीको यात्रा गर्दै दुई दिन लगाएर सदरमुकाम सिमकोट पुगेको हल्जी गाउँका स्थानीय कुन्जोक तामाङले बताउनुभयो।
उहाँका अनुसार लिमी जाँदा पैदल यात्रा गर्दा न्यालु लेकमा जमेको करिब तीन फिट हिउँ पार गर्नुपरेको थियो। फर्कँदा भने लिमीको तील र हिल्साबीचको यालुलाग्नामा जमेको करिब एक फिट हिउँ छिचोल्दै हिल्सा पुगेका उनीहरू त्यहाँबाट गाडी चढेर सिमकोट आइपुगेका हुन्।
उक्त गाउँको भृकुटी प्रावि मतदान केन्द्रमा ५८ मत खसेको थियो। मतदानका लागि स्थानीयहरू काठमाडौं र चीनको ताक्लाकोटबाट लिमी पुगेका थिए। उनीहरूमध्ये २५ जना ताक्लाकोटबाट आएका थिए भने ५४ जना काठमाडौंबाट मतदान गर्न पुगेका थिए।
जाङ गाउँबाट फर्किएका ४९ जना हिल्सा हुँदै सिमकोट आइपुगेका र अब काठमाडौं फर्किने तयारीमा रहेको तामाङले बताउनुभयो। चार जना भने ताक्लाकोट फर्किने तयारीमा छन्।
काठमाडौंबाट सिमकोट हुँदै न्यालु लेक पार गरेर लिमी पुगेका दुई घरधुरीका पाँच जना भने जाङ गाउँमै बसेका छन्।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यसपटक लिमीवासीले निकै खर्च गरेर मतदानमा सहभागिता जनाएको बताउनुभयो। न्यालु लेकमा हिउँ बढी भएकाले अधिकांश स्थानीय हिल्साबाट सिमकोटतर्फ फर्किएका भए पनि आफू भने गाउँमै बसेको उहाँको भनाइ छ।