तेहरान, फागुन २५ गते । मध्यपूर्वमा बढ्दो द्वन्द्व र तनावका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता नियन्त्रण गर्ने उपायबारे प्रमुख औद्योगिक देशका अर्थमन्त्रीले छलफल गर्ने भएका छन् । फ्रान्स सरकारका एक स्रोतका अनुसार सोमबार हुने बैठकमा तेल बजारलाई स्थिर बनाउन रणनीतिक तेल भण्डार प्रयोग गर्ने सम्भावनाबारे गम्भीररूपमा विचार गरिने छ ।
फ्रान्सको अर्थ मन्त्रालयले बैठकमा खाडी क्षेत्रको पछिल्लो अवस्थासहित त्यसको विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभावबारे समीक्षा गरिने जनाएको छ । पछिल्ला दिनमा अमेरिका-इजरायल र इरानबिचको युद्ध तीव्र हुँदै जाँदा मध्यपूर्वबाट हुने तेल आपूर्तिमा अवरोध आउन सक्ने आशङ्का बढेको छ । यही कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्ररूपमा बढ्दै गएको छ र धेरै देशका शेयर बजारमा पनि अस्थिरता देखिएको छ ।
फ्रान्सले हाल प्रमुख औद्योगिक देशको समूहको घुम्ती अध्यक्षता गरिरहेको छ, जसमा क्यानडा, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पनि सदस्य रहेका छन् । ऊर्जा सङ्कटको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ती देशले अन्तर्राष्ट्रिय ऊर्जा सहयोग संयन्त्रमार्फत संयुक्तरूपमा रणनीतिक तेल भण्डार बजारमा ल्याउने विषयमा पनि विचार गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल मूल्य बढ्नु इरानको आणविक खतरा हटाउनका लागि तिर्नुपर्ने सानो मूल्य भएको बताउनुभएको छ । सन् १९७३ को तेल सङ्कटपछि ऊर्जा आपूर्ति अवरोधको अवस्थामा सदस्य देशबिच समन्वय गरेर प्रतिक्रिया दिन अन्तर्राष्ट्रिय ऊर्जा सहयोग संयन्त्र स्थापना गरिएको थियो । ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सदस्य देशले कम्तीमा ९० दिनको आयात बराबरको आपतकालीन तेल भण्डार राख्ने व्यवस्था रहेको छ, जसलाई आवश्यकता परे बजार स्थिर बनाउन प्रयोग गर्न सकिन्छ । रासस/एएफपी