• २५ फागुन २०८२, सोमबार

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

blog

कपिलबस्तु क्षेत्र नं. २ को मतगणना । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा(कपिलबस्तु), फागुन २५ गते । प्रतिनिधि सभा २०८२ को निर्वाचनमा कपिलवस्तुमा समानुपतिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख बढी मत पाएर पहिलो भएको छ । ३ वटै निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मत परिणाम अनुसार सबैभन्दा बढी मत पाउने दल रास्वपा बनेको हो ।

रास्वपाले जिल्लामा प्रत्यक्षतर्फ ३ मध्ये २ मा जितेको छ । ३ वटै निर्वाचनमा रास्वपाले १ लाख ५४९ मत पाएको छ । रास्वपाले निर्वाचन क्षेत्र नम्बर १ मा ४३ हजार २५२ मत, क्षेत्र नम्बर २ मा ३१ हजार १२७ र क्षेत्र नम्बर ३ मा २६ हजार १७० मत पाएका छ । यस्तै कांग्रेसले ४६ हजार ३९१ मत पाएर दोश्रो भएको छ ।

क्षेत्र नम्बर १ मा कांग्रेसले १३ हजार १८७, क्षेत्र नम्बर २ मा १९ हजार १३४ र क्षेत्र नम्बर ३ मा १४ हजार ७० मत पाएकाे छ । यस्तै एमालेले २५ हजार ६२० मत पाई तेश्रो भएको छ । एमालेले क्षेत्र नम्बर १ मा ७ हजार ६२१, क्षेत्र नम्बर २ मा ८ हजार ८४९ र क्षेत्र नम्बर ३ मा ११ हजार १५० मत पाएको छ ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीले २२ हजार ६३ मत पाएको छ । नेकपाले क्षेत्र नम्बर १ मा ४ हजार ५, क्षेत्र नम्बर २ मा १४ हजार ३३८ र क्षेत्र नम्बर ३ मा ३ हजार ७२० मत पाएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ९८३ मत पाएको छ । राप्रापले क्षेत्र नम्बर १ मा ५ हजार ८४२, क्षेत्र नम्बर २ मा ५ हजार ७८७ क्षेत्र नम्बर ३ मा ६ हजार ३५ मत पाएको छ ।

मुख्य सिनर्वाचन अधिकृत रमेश शर्मा पोडेलले क्षेत्र नम्बर १ मा कुल ९२ हजार २ सय ७६ मत खसेकोमा ४ हजार ८८२ मत बदर भएको बताउनुभयो । यस्तै क्षेत्र नम्बर २ मा ८१ हजार ४६६ मत खसेकोमा ३ हजार ४१० मत बदर भएको उहाँको भनाइ छ ।

यस्तै क्षेत्र नम्बर ३ मा ७४ हजार ८८४ मत खसेकोमा ४ हजार ३९१ मत बदर भएको थियो । प्रत्यक्ष तर्फ भने क्षेत्र नम्बर १ मा रास्वपाका मोहनलाल आचार्य, क्षेत्र नम्बर २ मा सोही पार्टीका बिक्रम सिंह थापा र क्षेत्र नम्बर ३ मा कांग्रेसका अभिषेक प्रताप शाहले जितेका छन् ।

रास्वपाका उम्मेदवारभन्दा बढी मत समानुपातिकमा

कपिलवस्तुमा रास्वपाका ३ वटै उम्मेदवार भन्दा बढी मत समानुपातिकमा आएको छ । क्षेत्र नम्बर १ मा मोहन आचार्यले ३४ हजार १४८ मत पाएका छन् । यस्तै क्षेत्र नम्बर २ मा बिक्रम सिंह थापाले ३७ हजार ६३५ मत पाएका छन् ।

यस्तै क्षेत्र नम्बर ३ मा प्रकाश रजौरियाले १८ हजार ५८० मत पाएका छन । रास्वपाले निर्वाचन क्षेत्र नम्बर १ मा ४३ हजार २५२ मत क्षेत्र नम्बर २ मा ३१ हजार १२७ र क्षेत्र नम्बर ३ मा २६ हजार १७० मत पाएकाे छ ।