धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन २५ गते । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ओपिडी भवनमा सोमबार आगलागी भएको छ। नेपाली सेना र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याइएको हो।
नेपाली सेना श्री बरख गणको दमकल तथा मधेस प्रदेश प्रहरी तालिम केन्द्र, राजविराजबाट आएको दमकलको सहयोगमा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिएको थियो।
राजविराजस्थित बरख गणका गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दका अनुसार आगलागीका कारण अस्पतालको ओपिडी कक्ष, कर्मचारी कक्ष, आँखा उपचार शाखालगायत भवनका विभिन्न कक्षमा क्षति पुगेको छ। आगोले महत्त्वपूर्ण कागजात, उपकरण तथा फर्निचर जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालका कर्मचारीका अनुसार विद्युतीय सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। दिलिप साहका अनुसार आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । आगलागीबाट भएको क्षति विवरण संकलन कार्य भइरहेको उहाँले बताउनुभयो।