• २५ फागुन २०८२, सोमबार

खैरो हेरोइनसहित दुई युवा पक्राउ

blog

नारद कोहार

तौलिहवा (कपिलबस्तु), फागनु २५ गते । जिल्लाको कृष्णनगर क्षेत्रबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार कृष्णनगर नगरपालिका –३ झण्डिनगरबाट ९ सय ३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भारतको उत्तर प्रदेशको सिद्धार्थनगर जिल्ला बरहनी घर भएका २३ वर्षीय मोहसिन हाशमीलाई पक्राउ गरिएको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई शंका लागेपछि जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी नियन्त्रणमा लिएको उहाँको भनाइ छ ।

यसैबिच थप अनुसन्धानका क्रममा प्रहरीले कृष्णनगर नगरपालिका –२ स्थित यात्रु गेटबाट भारतको सिद्धार्थनगर वढनी निवासी २३ वर्षीय दिपेन्द्र कश्यपलाई पनि पक्राउ गरेको छ । उनलाई आइतबार दिउँसो एकसय मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।