राजु लामिछाने
रुकुमपश्चिम, फागुन २५ गते । रुकुमपश्चिममा समानुपातिक निर्वाचनतर्फको मत गणना सम्पन्न भएको छ ।
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार सबैभन्दा बढी मत नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्राप्त गरेको छ ।
नेकपाले २० हजार ३६ मत प्राप्त गरेर पहिलो भएको छ । प्रत्यक्षतर्फ पनि नेकपाकै उम्मेदवार गोपाल शर्मा विजयी हुनुभएको थियो । समानुपातिकतर्फ नेपाली काँग्रेसले १५ हजार १८१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार १४९ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीले सात हजार २०७, नेकपा (एमाले)ले पाँच हजार ८४७ मत प्राप्त गरेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ४७८ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी) ले ३९९ मत प्राप्त गरेको छ ।
राष्ट्रिय जनमोर्चाले ४९, आम जनता पार्टीले ७०, नेकपा (सयुक्त)ले २६, नेपाल मजदुर किसान पार्टीले १९ र श्रम संस्कृति पार्टीले २३२ मत प्राप्त गरेका छन् । विभिन्न ५७ पार्टीको चुनाव चिन्हमा मत खसेको छ । समानुपातिकतर्फ कुल एक लाख सात हजार ७४९ मतदाता रहेकोमा ६३ हजार १५२ मत खसेको थियो । जसमध्य ६० हजार ८२७ मत सदर भएको छ भने दुई हजार ३२५ मत बदर भएको छ ।