सन्तोष सुवेदी
धनकुटा, फागुन २५ गते । प्रतिनिधि सभा निर्वाचनमा धनकुटाबाट उमेदवारी दिएका १७ जना उमेदवारमध्ये ३ स्वतन्त्रसहित १० दलका उमेदवारको जमानत जफत भएको छ । एक मात्र निर्वाचन क्षेत्रमा रहेको धनकुटामा कुल सदर मतमध्ये १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धा गरेका १७ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बू, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, मङ्गोल नेसनल अर्गनाइजेसनका सागर राई, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली रहेका छन् । यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादीका रविनकुमार राई, जनता समाजवादी पार्टीका निशान राई, आम जनता पार्टीका प्रेमबहादुर थापा रहेका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार रहेका लाक्पा तामाङ, जितेन्द्र राई र मनकुमार योञ्जनको जमानत जफत भएको धनकुटाका मुख्य निर्वाचन अधिकृत हरीश्चन्द्र इङनामले जानकारी दिए । धनकुटामा कुल एक लाख १८ हजार चारसय २४ मतदाता मध्ये ५४.४५ प्रतिशत अर्थात् ६४ हजार ४९० खसेको थियो । जसमध्ये ४ हजार ८८३ मत बदर भएका थियो । सदर ५९ हजार ६०७ मतको १० प्रतिशत अर्थात ५ हजार नौ सय २१ मत ल्याउनु पर्ने थियो ।
यता जमानत जफत जोगिनेमा नेकपा (एमाले) का उम्मेदवार राजेन्द्रकुमार राई, नेपाली कांग्रेसका दिनेश राई, श्रम संस्कृति पार्टीका सानबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी रहेका छन् । एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १८ हजार एकसय ३२ मतसहित विजयी भएका थिए भने उहाँका निकटतमा प्रतिदन्दी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत ल्याएका थिए । यस्तै श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ९ हजार ९४४ मत प्राप्त गर्दै जमानत जोगाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख माधवप्रसाद अधिकारीका अनुसार जमानत जफल भएका मध्ये दुई उम्मेदवारको नेपाली कम्युनिस्ट पार्टी र स्वतन्त्र उमेदवार लाक्पा तामाङले मात्र हजार मत कटाएको जानकारी दिनुभयाे । नेपाली कम्युनिष्ट पार्टीका पौडेलले १ हजार ६६५ र स्वतन्त्र उम्मेदवार तामाङले १ हजार १८१ मत ल्याएका छन् । अन्य उम्मेदवारको एक हजार मत समेत नकटेको पाइएको छ ।