• २७ फागुन २०८२, बुधबार

झापामा ८६ प्रतिशतभन्दा बढी उम्मेदवारको जमानत जफत

blog

विष्णुप्रसाद पोखरेल

दमक, फागुन २४ गते । झापामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लामा उम्मेदवारी दिएका ९० मध्ये ७८ जनाको जमानत जफत भएको हो। यो कुल उम्मेदवारको ८६ दशमलव ६७ प्रतिशत हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ अनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी (जमानत) जफत हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आवश्यक मत प्राप्त गर्न नसकेपछि झापाका धेरै उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन्। यस निर्वाचनमा ठुला राजनीतिक दलका रूपमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाका कतिपय उम्मेदवारको समेत जमानत जफत भएको छ।

झापा क्षेत्र नं. ५

यस क्षेत्रमा सबैभन्दा धेरै उम्मेदवारको जमानत जफत भएको छ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिचको मुख्य प्रतिस्पर्धाका कारण यहाँ अन्य उम्मेदवार चर्चामा रहेनन्। शाहले भारी मतान्तरले ओलीलाई पराजित गर्नुभएको छ। यस क्षेत्रका २४ उम्मेदवारमध्ये २२ जनाको जमानत जफत भएको छ। नेपाली कांग्रेसकी मन्धरा चिमरिया, राप्रपाका लक्ष्मीप्रसाद सङ्ग्रौला र नेकपाका रञ्जित तामाङसहितका उम्मेदवारले १० प्रतिशत मत कटाउन सकेनन्।

झापा क्षेत्र नं. २

१८ जना उम्मेदवारमध्ये १६ जनाको जमानत जफत भएको छ। राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत), श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी र नेकपाकी धर्मशीला चापागाईंसहितका उम्मेदवारको जमानत जफत भएको छ। यहाँ रास्वपाकी इन्दिरा रानामगर विजयी हुनुभएको छ। नेकपा (एमाले) का उम्मेदवार एवं निवर्तमान सभामुख देवराज घिमिरेले मात्र आफ्नो जमानत जोगाउनुभएको छ।

झापा क्षेत्र नं. ३

१७ जना उम्मेदवारमध्ये १५ जनाको धरौटी जफत भएको छ। यहाँ नेपाली कांग्रेसका राजेन्द्र घिमिरे, नेकपा (एमाले) का हरिबहादुर राजवंशी र नेकपाका डिल्लीराम घिमिरेलगायतको जमानत जफत भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पराजित गर्दै यहाँ रास्वपाका प्रकाश पाठक विजयी हुनुभएको छ।

झापा क्षेत्र नं. १

१५ मध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको छ। नेकपा (एमाले) का रामचन्द्र उप्रेती, राप्रपाका हेमराज कार्की र नेकपाका अशेष घिमिरेलगायतले १० प्रतिशत मत प्राप्त गर्न सकेनन्। नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारले मात्र यहाँ जमानत जोगाएका छन्। यस क्षेत्रमा रास्वपाकी निशा डाँगी विजयी हुनुभएको छ।

झापा क्षेत्र नं. ४

१६ मध्ये १३ जना उम्मेदवारको धरौटी जफत भएको छ। राप्रपाका भक्तिप्रसाद सिटौला र नेकपाका पुरुषोत्तम चुडालसहितका उम्मेदवारको जमानत जफत भएको छ। नेकपा (एमाले) का एलपी साँवा लिम्बू र नेपाली कांग्रेसका देउमान थेवेले मात्र जमानत जोगाउनुभएको छ। यहाँ रास्वपाका शम्भु ढकाल विजयी हुनुभएको छ।