• २७ फागुन २०८२, बुधबार

भेनेजुएलामा ऐतिहासिक कानुन लागु, १७ राजनीतिक बन्दी मुक्त

blog

काराकास, फागुन २४ गते । भेनेजुएलामा नयाँ आममाफी कानुन लागु भएपछि राजधानी काराकासस्थित जेलबाट १७ जना राजनीतिक बन्दी रिहा भएका छन् । पत्रकारले शनिबार उक्त रिहाइको दृश्य प्रत्यक्ष देखेका थिए । गत महिना पारित गरिएको यो ऐतिहासिक कानुनलाई डेल्सी रोड्रिगेजले अघि बढाउनुभएको हो ।

उहाँ पूर्व राष्ट्रपति निकोलस मादुरो पक्राउ परेपछि सत्ता सम्हाल्दै आएको बताइएको छ । मानवअधिकार संस्था फोरो पेनालका अनुसार, मादुरो पदच्युत भएयता हालसम्म ६२१ भन्दा बढी राजनीतिक बन्दी रिहा भइसकेका छन् । तर, अझै करिब ५०० जना बन्दी जेलमा छन् । बन्दीका परिवारले लामो समयदेखि रिहाइको माग गर्दै आएका थिए । केही महिलाले झन्डै एक हप्ता लामो अनशन गरे भने केही परिवारले जेलको गेटमा साङ्लो लगाएर विरोध प्रदर्शन गर्नुभयो ।

कतिपयले हप्तौँसम्म टेन्टमा बसेर आन्दोलन गरेका थिए । रिहा भएका राजनीतिक कार्यकर्ता ओमर टोरेसले स्वतन्त्र भएपछि आफू अत्यन्त खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कसैलाई दोष दिने समय होइन, स्वतन्त्र भएकोमा खुसी छु ।” सरकारका अनुसार जेल र परोलमा रहेका गरी ७ हजारभन्दा बढी मानिसलाई स्वतन्त्रता प्रदान गरिएको छ ।

तर काराकासको जोन ७ जेलबाट छुटेका बन्दीले आफ्नो पूर्ण स्वतन्त्रता सुनिश्चित गर्न अदालतमा उपस्थित हुनुपर्ने छ । पूर्व सांसद फर्नान्डो ओरोस्कोका छोरा ब्रायन ओरोस्कोले बाँकी राजनीतिक बन्दीको रिहाइका लागि प्रयास जारी रहने बताउनुभयो । रिहाइको क्रममा बाहिर ‘स्वतन्त्रता, स्वतन्त्रता’ भन्ने नारासहित खुसी र भावुक दृश्य देखिएको थियो । रासस/एएफपी