• २४ फागुन २०८२, आइतबार

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

blog

तेहरान, फागुन २४ गते । मध्यपूर्वमा चर्किदै गएको युद्धका बिच इरानले आफ्नो सेना अमेरिका र इजरायलविरुद्ध महिनौँसम्म तीव्र लडाइँ गर्न सक्षम रहेको दाबी गरेको छ । इरानको रिभोलुसनरी गाड्र्सले आइतबार वर्तमान गतिमा युद्ध जारी रहे पनि इस्लामिक गणतन्त्रको सैन्य क्षमता कम्तीमा छ महिनासम्म तीव्र सङ्घर्ष धान्न सक्ने बताएको हो ।

द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरिसकेको अवस्थामा क्षेत्रभरि तनाव थप फैलिएको छ । इजरायलले लेबनानको राजधानी बेरुतको मध्यभागमा रहेको एक होटलमा लक्षित आक्रमण गरेपछि अवस्था झनै जटिल बनेको छ । उक्त होटलमा इरानको रिभोलुसनरी गार्डको विदेशी अपरेसन शाखा कुद्स फोर्ससँग सम्बन्धित कमान्डर रहेको दाबी इजरायली सेनाले गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटना स्थलमा पुगेका एएफपीका फोटो पत्रकारले भवनका झ्याल फुटेको र पर्खाल जलेको अवस्था देखिएको बताएका छन् । यसैबिच इजरायली सेनाले आइतबार ‘तेहरानका विभिन्न स्थानमा’ नयाँ आक्रमणको लहर सुरु गरिएको जनाएको छ । इजरायलले ती आक्रमण इन्धन भण्डारण केन्द्रसहित सैन्य पूर्वाधारसँग सम्बन्धित लक्ष्यमा केन्द्रित रहेको बताएको छ ।

इरानले भने अमेरिका र इजरायलले शनिबार राजधानी तेहरानमा रहेको तेल भण्डारण केन्द्रमा आक्रमण गरेको आरोप लगाएको छ । इरानको ऊर्जा पूर्वाधारमाथि प्रत्यक्ष रूपमा भएको यो पहिलो आक्रमण भएको तेहरानको दाबी छ । यस घटनापछि शेयर बजारमा गिरावट आएको र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको उल्लेख गरिएको छ । रिभोलुसनरी गाड्र्सका प्रवक्ता अली मोहम्मद नैनीका अनुसार इरानले अहिलेसम्म ‘पहिलो र दोस्रो पुस्ताका’ क्षेप्यास्त्र प्रयोग गरेको छ । 

तर आगामी दिनमा अझ उन्नत र लामो दूरीका मिसाइल प्रयोग गरिन सक्ने उहाँले सङ्केत गर्नुभयो । क्षेत्रीय स्तरमा पनि तनाव फैलिँदै गएको देखिएको छ । साउदी अरेबियाले राजधानी रियादतर्फ लक्षित दर्जनौँ ड्रोन रोकेको जनाएको छ । कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन भण्डारण ट्याङ्कीमा आक्रमण भएको जानकारी दिएको छ ।

कुवेतमा उड्डयन इन्धन भण्डारणमा भएको आक्रमणपछि ऊर्जा आपूर्तिबारे चिन्ता बढेको छ । कुवेतको राष्ट्रिय तेल कम्पनीले होर्मुजको जलडमरुमा बढ्दो जोखिमका कारण कच्चा तेल उत्पादन घटाउने निर्णय गरेको जनाएको छ । उक्त जलमार्गबाट विश्वको करिब पाँचौँ भाग तेल तथा ग्यास पारवहन हुने गर्दछ । गत आइतबार कुवेतस्थित अमेरिकी सैन्य अड्डामा भएको ड्रोन आक्रमणमा छ जना अमेरिकी सैनिक मारिएका थिए । 

ती सैनिकको शव स्वदेश फर्काउने कार्यक्रममा सहभागी हुँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको युद्ध विस्तार हुने सम्भावनाबारे टिप्पणी गर्नुभएको थियो । यसैबिच इरानका सुरक्षा प्रमुख अली लारिजानीले ट्रम्प प्रशासनले भेनेजुएलामा जस्तै शासन परिवर्तनको योजना बनाएको आरोप लगाउनुभएको छ । “उनीहरूको सोच यो भेनेजुएलामा जस्तै हुने छ भन्ने थियो–उनीहरूले आक्रमण गर्ने छन्, नियन्त्रण लिनेछन् र सबै समाप्त हुने छ”, उहाँले राज्य टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा भन्नुभएको थियो, “तर अहिले उनीहरू आफैँ जटिल अवस्थामा परेका छन् ।”

इरानका न्यायपालिका प्रमुख घोलामहोसेन मोहसेनी एजेईले पनि मध्यपूर्वका ती देशलाई चेतावनी दिनुभएको छ जसलाई उहाँले ‘खुला वा गोप्यरूपमा शत्रुको नियन्त्रणमा रहेका’ भन्दै आलोचना गर्नुभएको थियो । उहाँले त्यस्ता लक्ष्यमाथि आक्रमण जारी रहने चेतावनी दिनुभयो । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि आइतबार चेतावनी दिँदै कुनै छिमेकी देशको भूमि इरानविरुद्ध आक्रमण गर्न प्रयोग भए त्यसको जवाफ दिन तेहरान बाध्य हुने बताउनुभयो ।

यस क्रममा इरानले यस क्षेत्रका अमेरिकी सम्पत्तिलाई लक्ष्य बनाउने चेतावनी दिएको छ । साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स र कुवेतले आइतबार विभिन्न प्रकारका आक्रमणको प्रयास भएको जानकारी दिएका छन् । कतारका अनुसार शनिबार इरानबाट दुई वटा क्रुज मिसाइल र १० वटा ब्यालेस्टिक मिसाइल प्रहार गरिएको थियो । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले पनि इरानबाट प्रक्षेपण गरिएका मिसाइल र ड्रोन अवरोध गरिएको जनाएको छ ।

शनिबार सार्वजनिक भएको भिडियो फुटेजमा दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा प्रक्षेप्य दुर्घटनाग्रस्त भएको देखिएको थियो । त्यस्तै एएफपीका पत्रकारले इराकको बगदाद र इरबिलमा पनि विस्फोटको आवाज सुनेका थिए । इरानभित्र पनि युद्धको असर बढ्दै गएको छ । पूर्वाधार तथा आवासीय क्षेत्रमा क्षति बढिरहेको छ भने सर्वसाधारणबिच चिन्ता र असुरक्षाको भावना फैलिएको बताइएको छ ।

एक २६ वर्षीया शिक्षिकाले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एएफपीसँग भन्नुभयो, “युद्ध प्रत्यक्ष अनुभव नगरेको मानिसले यसको भयावहता बुझ्न सक्दैन ।” इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म युद्धका क्रममा कम्तीमा ९२६ जना सर्वसाधारणको मृत्यु भएको छ भने करिब छ हजार जना घाइते भएका छन् । यद्यपि एएफपीले यी तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

यसैबिच लेबनान पनि द्वन्द्वको चपेटामा परेको छ । खामेनीको मृत्युको प्रतिक्रियामा केही लडाकू समूहले इजरायलमाथि रकेट तथा ड्रोन प्रहार गरेपछि इजरायलले बेरुतको दक्षिणी उपनगरस्थित हेजबुल्लाहको बलियो आधार क्षेत्रमा हवाई आक्रमण सुरु गरेको हो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो हप्तामा इजरायली हवाई आक्रमणमा कम्तीमा २९४ जनाको मृत्यु भएको छ । लेबनानका प्रधानमन्त्री नवाफ सलामले यस अवस्थालाई ‘मानवीय प्रकोप’ बन्न सक्ने चेतावनी दिनुभयो ।

यसैबिच शनिबार इजरायलले इरानका सैन्य एकेडेमी, भूमिगत कमान्ड सेन्टर तथा मिसाइल भण्डारण स्थललाई लक्षित गर्दै युद्ध सुरु भएयताकै सबैभन्दा ठुलो हवाई आक्रमण गरेको जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले तेहरानको आकाशमा लगभग पूर्ण नियन्त्रण हासिल गरेको दाबी गर्नु भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरान आणविक हतियार विकासको नजिक पुगेको दाबी दोहोर्‍याउनुभएको छ । उहाँले इरानको समृद्ध युरेनियम भण्डार सुरक्षित गर्न अन्ततः अमेरिकी सेना प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने सङ्केत पनि गर्नुभयो ।

यसैबिच इरानको मिनाब सहरस्थित एक प्राथमिक विद्यालयमा शनिबार भएको घातक आक्रमणमा कम्तीमा १५० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । उक्त घटनाका लागि इरानले अमेरिकालाई दोष दिएको छ भने अमेरिका र इजरायल दुवैले जिम्मेवारी अस्वीकार गरेका छन् । एएफपीले पनि घटनाको स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

विश्लेषकका अनुसार हाल देखिएको सङ्घर्ष छिट्टै अन्त्य हुने सङ्केत देखिएको छैन । अमेरिका र इजरायलका अधिकारीलेसमेत यो द्वन्द्व कम्तीमा एक महिना वा त्योभन्दा लामो समयसम्म जारी रहन सक्ने अनुमान गरेका छन् । यसैबिच वासिङ्टनले इरानमा स्वीकार्य नेतृत्व आए अर्थतन्त्र पुनर्निर्माणमा सहयोग गर्न सकिने सङ्केत दिएको छ । तर तेहरानले यस प्रस्तावलाई अस्वीकार गरेको छ ।

इरानसँग नजिकको सम्बन्ध भए पनि चीन र रुस भने हालसम्म यस द्वन्द्वमा प्रत्यक्षरूपमा सक्रिय देखिएका छैनन् । चीनका विदेशमन्त्री वाङ यीले आइतबार मध्यपूर्वमा सुरु भएको युद्धबारे टिप्पणी गर्दै यस्तो द्वन्द्व कहिल्यै सुरु हुनु नपर्ने बताउनुभएको छ । “यो यस्तो युद्ध हो जुन कहिल्यै हुनु हुँदैन थियो”, उहाँले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभएको थियो, “सैन्य शक्तिले उचित कारण प्रमाणित गर्दैन, संसार फेरि जङ्गलको नियममा फर्किन सक्दैन ।” रासस/एएफपी