• २४ फागुन २०८२, आइतबार

जनकपुरधामको थप उन्नयमा मेरो उच्च प्राथमिकता रहने छ : सांसद झा

blog

धनुषा,  फागुन २४ गते ।  धनुषा  ३ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधामको विकास, सरसफाइ तथा अन्तरराष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याउने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता समेत रहनुभएका उहाँले  निर्वाचित भएपछि पहिलोपटक जनकपुर रेल्वे स्टेशनमा आयोजित सभालाई सम्बोधन गर्दै प्राप्त मत केवल विजयको प्रतीकमात्र नभई ठूलो जिम्मेवारी भएको उल्लेख गर्नुभयो । उहाँले आफू सत्ताको शक्ति र राजधानीको आकर्षणमा अल्झिने ‘भिआइपी’ नेता बन्न नभई जनताको सुखदुःखमा साथ दिने वास्तविक प्रतिनिधिका रूपमा काम गर्न आएको स्पष्ट पार्नुभयो । 

उहाँले जनकपुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई विश्वव्यापी रूपमा स्थापित गर्न आफ्नो कार्यकालमा विशेष पहल गर्ने बताउनुभयो । विशेषगरी जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया र कूटनीतिक पहललाई प्राथमिकतामा राख्ने उहाँको भनाइ छ ।

जनकपुरधाममा पछिल्लो समय देखिएको सरसफाइको समस्या समाधान गर्नु आफ्नो मुख्य ‘एजेन्डा’मध्ये एक रहेको स्पष्ट पार्दै उहाँले स्थानीय तह र नागरिकसँग सहकार्य गरी सहरलाई सफा, व्यवस्थित र आकर्षक पर्यटकीय नगरीका रूपमा विकास गर्ने योजना अघि सार्नुभयो ।

विजयपछि उत्साहित आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह गर्दै उहाँले निर्वाचनलाई प्रतिशोध नभई स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले कसैप्रति पनि अहंकार वा दम्भ प्रदर्शन नगर्न सचेत गराउँदै अब सबै मिलेर क्षेत्रको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

धनुषा–३ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएका ४५ वर्षीय झाले ४३ हजार १४२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत प्राप्त गर्नुभएको छ ।

यसअघि २०७९ सालको निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकै समानुपातिक सांसदका रूपमा प्रतिनिधिसभामा हुनुहुन्थ्यो । प्रतिनिधिसभाको तीनवर्षे अवधिमा उहाँले करिब ९५ प्रतिशत उपस्थिति जनाउनुका साथै सार्वजनिक लेखा समितिको सदस्यका रूपमा पनि काम गर्नुभएको थियो । रास्वपामा आबद्ध हुनुअघि उहाँ नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा संलग्न हुनुहुन्थ्यो ।

फ्याक्टस नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका झाले राजनीतिशास्त्रमा स्नातकोत्तर र मैथिली साहित्यमा पनि स्नातकोत्तर अध्ययन गर्नुभएको छ । आगामी दिनमा जनकपुरको समग्र विकासका लागि आफू सक्रिय रहने बताउँदै उहाँले निर्वाचनका क्रममा गरेका प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताउनुभयो । “सरकारी कार्यालयका सेवालाई चुस्तदुरुस्त बनाइनेछ । जनकपुरलाई विवाह (बैवाहिक) गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइनेछ”, उहाँले भन्नुभयो ।

त्यसैगरी, रामजानकी रङ्गशालाको स्तरोन्नति, जनकपुर विमानस्थलको सुधार तथा जनकपुर रेल्वे सेवाको स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखेर काम गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यी योजनाले जनकपुरको पर्यटन, आर्थिक गतिविधि र अन्तरराष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । रासस