निशा राई
धरान, फागुन २४ गते । सुनसरी निर्वाचन क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले अग्रस्थानमा रहनुभएको छ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार हालसम्मको मतगणनामा राईले ३३ हजार ४०९ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले १८ हजार ६७९ मत प्राप्त गर्नुभएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष राई आफ्ना प्रतिस्पर्धीभन्दा १४ हजार ७३० मतले अगाडि रहनुभएको हो।
त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले ५ हजार ४५८ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार टीकाराम लिम्बूले ४ हजार ५०९ र नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ५३ मत प्राप्त गर्नुभएको छ।
धरान उपमहानगरपालिकाका २० वटै वडा र बराहक्षेत्र नगरपालिकाका दुई वटा वडाको गरी जम्मा ७० हजार ८ मत गणना भएको निर्वाचन कार्यालयका सहायक अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिनुभयो। जसमध्ये ६६ हजार ८२६ मत सदर र ३ हजार १८२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।