अमरराज नहर्की
तनहुँ, फागुन २४ गते । व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने मादीसेती नदीमाथिको निर्माणाधीन मोटरेबल पुलको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ । सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोग्दै आएका छन् ।
गण्डकी प्रदेश सरकारको महत्वपूर्ण आयोजनाका रूपमा रहेको १५५ मिटर लामो यो ‘स्टिल ट्रस’ पुल निर्माणमा भएको ढिलासुस्तीले आयोजनाको लागत र समय दुवै बढ्दै गएको छ । पूर्वाधार विकास कार्यालयले दिएको जानकारी अनुसार पुलको जग र पिलरका कामहरू सम्पन्न भई मुख्य संरचना जडानको तयारी भइरहेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्र तिवारीले निर्माण व्यवसायीलाई २०८२ साल चैत मसान्तभित्र काम सक्ने गरी अन्तिम समयसीमा दिइएको जानकारी दिनुभयो ।
“पुलको स्टिल पाट्र्स फेब्रिकेसनको काम सकिएको छ र आवश्यक सामग्रीहरू निर्माणस्थलमा आइसकेका छन्,” इन्जिनियर तिवारीले भन्नुभयो, “दुईवटा स्पानमध्ये एउटालाई यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।”
२०७७ साल मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग ३२ करोड ४० लाख २७ हजार १९४ रुपियाँको लागतमा सम्झौता भएको यस पुलको निर्माण अवधि तीन पटकसम्म थप भइसकेको छ । ९.५ मिटर चौडा हुने यो पुल दक्षिण तनहुँका बासिन्दाका लागि सदरमुकाम जोड्ने मुख्य लाइफलाइन मानिन्छ ।
पछिल्लो समय कार्यालयको निरन्तर ताकेता र दबाबपछि निर्माणस्थलमा कामको चहलपहल केही बढेको देखिएको छ । यद्यपि, पटक–पटक म्याद थपिँदा पनि काम अधुरै रहेका कारण तोकिएको नयाँ समयसीमाभित्र पुल सञ्चालनमा आउनेमा स्थानीयवासी अझै पूर्ण विश्वस्त हुन सकेका छैनन् । विकासका आयोजनामा हुने यस्तो ढिलासुस्तीले सर्वसाधारणको दैनिकी र स्थानीय आर्थिक गतिविधिमा समेत असर पुर्याएको व्यास नगरपालिका–२ न्यूरोड निवासी सागर उदास बताउनुहुन्छ ।