• २४ फागुन २०८२, आइतबार

झापा–४ मा रास्वपाका शम्भु ढकाल निर्वाचित

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुप्रसाद ढकाल

लीलाराज खड्का

बिर्तामोड, फागुन २४ गते । झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुप्रसाद ढकाल भारी मतान्तरले विजयी हुनुभएको छ ।

आइतबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार ढकाल कुल ४३ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालप्रसाद साँबाले ११ हजार ९८६ मत मात्र प्राप्त गर्नुभयो । ढकालले साँबालाई ३१ हजार ६४५ मतान्तरले पराजित गर्नुभएको हो ।

यसैगरी, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका देउकुमार थेबेले ९ हजार ४३४ मत ल्याउनुभयो । श्रम संस्कृति पार्टीकी अमृता राईले ७ हजार १६१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौलाले २ हजार ८० मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टीका पुरुषोत्तम चुडाल (राजु) ले १ हजार ३६२ मत प्राप्त गर्नुभयो । झापा क्षेत्र नम्बर ४ मा कुल १ लाख ३० हजार ७१२ मतदातामध्ये ८१ हजार ८२२ मत खसेको थियो । जसमध्ये ४ हजार ७६८ मत बदर भएको छ ।

अघिल्लो २०७९ सालको निर्वाचनमा समेत शम्भुप्रसाद ढकाल र लालप्रसाद साँबा चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उक्त निर्वाचनमा एमालेका साँबा विजयी हुँदा रास्वपाका ढकाल तेस्रो हुनुभएको थियो । विजयी ढकाल पूर्वप्रहरी समेत हुनुहुन्छ । झापा–४ मा एक स्वतन्त्रसहित १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।