• २३ फागुन २०८२, शनिबार

हुम्लामा कांग्रेसका उम्मेदवार रोकायातको अग्रता

blog

नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, फागुन २३ गते । चार वटा गाउँपालिकाको मतगणना हुँदासम्म पछाडि रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया १२५ मतले अगाडि बढ्नुभएको छ । खार्पुनाथ गाउँपालिकाको मतगणना भएसँगै कांग्रेस उम्मेदवार रोकाया अग्रस्थानमा आउनुभएको हो ।

सर्केगाड गाउँपालिकासम्मको गणनामा निकै अगाडि रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का डा. दीपेन्द्र रोकाया खार्पुनाथको गणनासँगै पछाडि पर्नुभएको हो । हाल कांग्रेस उम्मेदवार जयपति रोकायाको ५ हजार ७५३ मत पुगेको छ भने नेकपा उम्मेदवार डा. रोकायाले ५ हजार ६२८ मत प्राप्त गर्नुभएको छ ।

उहाँहरूबिच १२५ मतको अन्तर रहेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताउनुभयो । खार्पुनाथ गाउँपालिकाको मतगणनासँगै प्रतिस्पर्धा रोचक बनेको हो । त्यसैगरी नेकपा (एमाले) का दलबहादुर फडेराले ३ हजार १४५ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की टाली लाजोमले १३८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छक्क बुढाले ९६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेकपा (माओवादी) का कुम्भ बुढाले १०७ र प्रलोपाका जटिल कार्कीले २३५ मत ल्याउनुभएको छ भने २४१ मत बदर भएको छ । गणना सम्पन्न पाँच वटा गाउँपालिकामा १५ हजार ७६१ मत गणना भएको छ । अब सिमकोट र नाम्खा गाउँपालिकाको मतगणना बाँकी रहेको छ ।

हुम्ला जिल्लामा एक अस्थायीसहित ६५ मतदान केन्द्र रहेका छन् । कुल ३४ हजार ३७२ मतदाता रहेको हुम्लामा यस पटक २२ हजार ४६७ मत खसेको थियो ।