राधा लुइटेल
फिदिम, फागुन २३ गते । पाँचथरमा जारी मतगणनामा बदर मतको सङ्ख्या उल्लेख्य देखिएको छ । यहाँ प्रत्यक्षतर्फ हालसम्म गणना गरिएको कुल मत सङ्ख्याको ५.३७ प्रतिशत मत बदर भेटिएको हो ।
हालसम्म गणना भएका मतमध्ये १ हजार ७२५ मत बदर भएका छन् । जिल्लामा कुल ७१ हजार १७० मत खसेकामा हालसम्म ३२ हजार १२९ मत गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बदर भेटिएका मतमध्ये धेरैमा औँठा छाप, केहीमा दुई वटाभन्दा धेरै चिह्नमा सङ्केत र केहीमा मसी लतपतिएको जस्ता समस्या देखिएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले बताउनुभयो ।
जिल्लामा १ लाख ४३ हजार ४०८ जना मतदाता थिए । जसमध्ये ७१ हजार १७० मत खसेको छ । अझै ३१ वटा वडाको मत गन्न बाँकी छ । गणना भइरहेका मतपत्रमा पनि बदरको सङ्ख्या उल्लेख्य रहेकाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
विगत २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा यहाँ १३ प्रतिशतभन्दा बढी मत बदर भएको थियो । मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नहुनु मुख्य कारण हुनसक्ने बताइएको छ ।
प्रतिनिधि सभा सदस्य पदका लागि जिल्लामा १५ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतगणना कार्यलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा अघि बढाइएको जिल्ला प्रशासनले जनाएको छ । निर्वाचन परिणाम सार्वजनिक हुने क्रमसँगै जिल्लामा उम्मेदवार र समर्थकको चासो बढ्दै गएको छ ।