भवानीदत्त भट्ट
कञ्चनपुर, फागुन २३ गते । कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट हेभीवेट नेताहरूलाई दोब्बर मतान्तर पछाडि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिनुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा ३९ हजार ४३४ मत गणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जनक सिंह धामीले १६ हजार १८४ मत प्राप्त गर्नुभएको छ । पूर्व खानेपानी मन्त्री नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बिना मगरले ६ हजार ५२८ मत प्राप्त गर्नुभएको छ ।
मगर रास्वपाका नेता धामीभन्दा ९ हजार ६५६ मतान्तरले पछाडि हुनुहुन्छ । यसैगरी, नेपाली काँग्रेसका नेता गोपीप्रसाद उपाध्यायले ५ हजार ५३३ मत प्राप्त गर्नुभएको छ, भने नेकपा (एमाले) का नेता तारा लामा तामाङ ५ हजार २८२ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा हेभीवेट उम्मेदवारलाई दोब्बर बढी मतले पछाडि पार्नुभएका रास्वपाका नेता धामीको विजय हुने सम्भावना प्रबल बनेको छ । निर्वाचन क्षेत्र नम्बर २ मा ५२ हजार ८४२ मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले २७ हजार २३१ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा नेपाली काँग्रेसका हेभीवेट नेता पूर्व परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले ८ हजार ७९८ मत अर्थात तीन गुणा कम मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा (एमाले) का उम्मेदवार वचनबहादुर सिंहले ५ हजार १४६ मत प्राप्त गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले ५ हजार ३०९ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ मा २९ हजार ३० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र महताले १३ हजार ९७६ मत प्राप्त गनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले ५ हजार ३०९ मत प्राप्त गर्नुभएको छ । यहाँ नेकपा (एमाले) का उम्मेदवार डा. दीपक प्रकाश भट्टले ४ हजार ६१७ मत प्राप्त गर्नुभएको छ, भने नेपाली कम्युनिस्ट पार्टीका नेता मानबहादुर सुनारले २ हजार ५२५ मत प्राप्त गर्नुभएको छ ।
यस निर्वाचन क्षेत्रमा पनि नेपाली काँग्रेसका नेता बोहरा दुई गुणा पछाडि हुनुहुन्छ, भने नेकपा (एमाले) का नेता भट्ट तीन गुणा तथा नेपाली कम्युनिस्ट पार्टीका नेता पूर्व मन्त्री सुनार ६ गुणा पछाडि हुनुहुन्छ ।