एक्काइसौँ शताब्दीको दोस्रो दशकमा प्रवेशसँगै विश्व प्रविधिको नयाँ युगतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । यस नयाँ युगको केन्द्रमा रहेको सबैभन्दा प्रभावशाली प्रविधि हो– कृत्रिम बुद्धिमत्ता (एआई) । मानव मस्तिष्क जस्तै सोच्न, सिक्न, निर्णय गर्न र समस्या समाधान गर्न सक्ने क्षमतायुक्त कम्प्युटर प्रणालीको विकासले आज उत्पादन, सेवा, शिक्षा, स्वास्थ्य, सञ्चार र रोजगारीका संरचनालाई नै आमूल रूपमा परिवर्तन गरिरहेको छ । एआई अब केवल वैज्ञानिक प्रयोगशालामा सीमित विषय होइन, बरु आममानिसको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको यथार्थ बनिसकेको छ ।
कृत्रिम बुद्धिमत्ता भन्नाले कम्प्युटर प्रणालीलाई मानव जस्तै विश्लेषण, तर्क, सिकाइ र निर्णय क्षमता प्रदान गर्ने प्रविधिलाई बुझिन्छ । मेसिन लर्निङ, डाटा विश्लेषण, स्वचालन प्रणाली, रोबोटिक्स र प्राकृतिक भाषा प्रशोधन जस्ता प्रविधि एआईका प्रमुख आधार हुन् । आज एआई बैङ्किङ प्रणाली, अनलाइन सेवा, सामाजिक सञ्जाल, स्वास्थ्य परीक्षण, शिक्षा प्रविधि, कृषि व्यवस्थापन र सार्वजनिक सेवामा तीव्र गतिमा प्रवेश गरिरहेको छ । यस्तो अवस्थामा एआईले रोजगारी र शिक्षा क्षेत्रमा पार्ने प्रभाव विशेष महत्वको विषय बनेको छ, खास गरी नेपाल जस्तो विकासशील मुलुकका लागि ।
नेपालमा एआई र रोजगारी
विश्वभर एआईले रोजगारीको प्रकृति नै परिवर्तन गरिरहेको देखिन्छ । परम्परागत रूपमा दोहोरिने र श्रमप्रधान काम क्रमशः स्वचालित हुँदै गएका छन् । डाटा प्रविष्टि, साधारण लेखा, बैङ्किङ सेवा, कल सेन्टर, उत्पादन लाइनका काम, टिकट बुकिङ, कागजी प्रशासन जस्ता क्षेत्रमा मानवीय श्रमको माग घट्दै गएको छ । यसले गर्दा केही पेसा हराउने वा खुम्चिने सम्भावना स्पष्ट देखिन्छ । एआईले रोजगारी ‘नष्ट’ मात्र गरेको छैन, बरु ‘रूपान्तरण’ पनि गरिरहेको छ । एआई इन्जिनियर, डाटा विश्लेषक, साइबर सुरक्षाविज्ञ, डिजिटल शिक्षक, सामग्री निर्माता, सफ्टवेयर विकासकर्ता, अनलाइन परामर्शदाता जस्ता नयाँ किसिमका पेसा तीव्र रूपमा विकास हुँदै गएका छन् । अर्थात् एआईले रोजगारीको स्वरूप बदलिरहेको छ, पुराना सिपभन्दा नयाँ डिजिटल सिपको माग बढाइरहेको छ ।
नेपालको श्रम बजार हेर्दा मुख्यतः कृषि, निर्माण, पर्यटन, वैदेशिक रोजगारी र अनौपचारिक क्षेत्रमै केन्द्रित रहेको देखिन्छ । औद्योगिकीकरण कमजोर, प्रविधि अपनाउने गति सुस्त र सिप विकास प्रणाली कमजोर रहेको अवस्थामा एआईको प्रवेशले मिश्रित प्रभाव पार्ने देखिन्छ । नेपालमा ठुलो जनसङ्ख्या न्यून सिप र श्रमआधारित काममा निर्भर छ । स्वचालन बढ्दै जाँदा यस्ता काम विस्थापित हुने खतरा बढ्ने छ । विशेष गरी बैङ्किङ, प्रशासन, यातायात, खुद्रा व्यापार र सेवा क्षेत्रमा यसका प्रभाव स्पष्ट देखिन सक्छन् । सहर र ग्रामीण क्षेत्रबिच प्रविधि पहुँचको खाडल पहिले नै ठुलो छ । एआई युगमा यो डिजिटल असमानता झनै गहिरिने जोखिम छ । सहरका युवाले प्रविधि र सिप विकासको अवसर पाउँदा ग्रामीण क्षेत्रका नागरिक अझ पछाडि पर्ने सम्भावना रहन्छ । यसले सामाजिक असमानता र आर्थिक विभाजनलाई थप गहिरो बनाउन सक्छ । वैदेशिक रोजगारीमा पनि एआईको प्रभाव पर्न सक्छ । खाडी मुलुक, कोरिया, जापानलगायत देशमा पनि स्वचालन र रोबोट प्रयोग बढ्दै जाँदा नेपाली श्रमिकको माग क्रमशः घट्ने जोखिम देखिन्छ । विशेष गरी अकुशल र अर्धकुशल श्रमिकको अवसर खुम्चिन सक्छ ।
सकारात्मक पक्ष पनि त्यत्तिकै महìवपूर्ण छन् । सूचना प्रविधि, सफ्टवेयर सेवा, डिजिटल मार्केटिङ, अनलाइन व्यापार, फ्रिल्यान्सिङ, रिमोट वर्क, डाटा सेवा र आउटसोर्सिङ जस्ता क्षेत्रमा नेपाली युवाका लागि नयाँ अवसर खुलेका छन् । भौगोलिक सीमाभन्दा बाहिर बसेर पनि विश्वबजारमा सेवा दिन सक्ने सम्भावना एआईले सिर्जना गरेको छ । युवाले
समयमै डिजिटल सिप विकास गर्न सके भने एआई नेपालका लागि बेरोजगारीको होइन, रोजगारी सिर्जनाको माध्यम बन्न सक्छ ।
शिक्षा क्षेत्रमा एआईको प्रभाव
शिक्षा क्षेत्र एआईको प्रभावबाट अछुतो रहन सक्दैन । विश्वभर व्यक्तिगत सिकाइ प्रणाली, अनलाइन कक्षा, भर्चुअल शिक्षक, स्वचालित मूल्याङ्कन, डिजिटल पुस्तकालय जस्ता अभ्यास तीव्र रूपमा विस्तार हुँदै गएका छन् । विद्यार्थीको क्षमता, गति र रुचि अनुसार अध्ययन सामग्री उपलब्ध गराउन एआई सक्षम बन्दै गएको छ । यसले परम्परागत ‘सबैलाई एउटै पाठ’ भन्ने शिक्षण शैलीलाई चुनौती दिएको छ ।
नेपालमा पनि कोभिड महामारीपछि डिजिटल शिक्षाको प्रयोग केही हदसम्म बढेको देखिन्छ । अनलाइन कक्षा, डिजिटल सामग्री र मोबाइल एपमार्फत सिकाइको अभ्यास सुरु भइसकेको छ । एआई प्रयोग गरेर विद्यार्थीको सिकाइ प्रगति विश्लेषण गर्ने, कमजोर पक्ष पहिचान गर्ने र व्यक्तिगत मार्गदर्शन दिने सम्भावना पनि देखिएको छ । शिक्षकका लागि एआई सहायक उपकरण बन्न सक्छ, जसले मूल्याङ्कन, सामग्री तयारी र विद्यार्थी व्यवस्थापनमा सहयोग पु¥याउँछ । ग्रामीण र दुर्गम क्षेत्रमा शिक्षक अभाव रहेको अवस्थामा एआई आधारित डिजिटल शिक्षाले केही हदसम्म समाधान दिन सक्छ । इन्टरनेट र प्रविधिको पहुँच बढेमा दूरदराजका विद्यार्थीले पनि गुणस्तरीय शैक्षिक सामग्री पाउने सम्भावना रहन्छ । शिक्षा क्षेत्रमा चुनौती पनि उत्तिकै गम्भीर छन् । सबै विद्यार्थीमा इन्टरनेट, स्मार्टफोन, कम्प्युटर र डिजिटल सिपको समान पहुँच छैन । यसले शैक्षिक असमानता झनै बढाउने खतरा छ ।
प्रविधि पहुँच हुने विद्यार्थी अगाडि बढ्ने, नहुने विद्यार्थी पछाडि पर्ने अवस्था सिर्जना हुन सक्छ । एआईले शिक्षक विस्थापित गर्छ कि भन्ने डर पनि देखिन्छ तर व्यावहारिक रूपमा एआई शिक्षकको विकल्प होइन, पूरक उपकरण मात्र हो । मानवीय संवेदना, प्रेरणा, नैतिक शिक्षा र सामाजिक मूल्य हस्तान्तरण एआईले गर्न सक्दैन । त्यसैले शिक्षकको भूमिका अझै महìवपूर्ण रहने छ । नेपालमा एआई आधारित शिक्षाको स्पष्ट नीति र दीर्घकालीन रणनीति अभाव छ । पाठ्यक्रममा डिजिटल सिप, आलोचनात्मक सोच, समस्या समाधान, सिर्जनशीलता, नैतिकता र मानव मूल्यलाई पर्याप्त प्राथमिकता दिइएको छैन । अझै पनि रटानमुखी र परीक्षाकेन्द्रित शिक्षा प्रणाली हाबी छ, जुन एआई युगमा अप्रासङ्गिक बन्दै गएको छ ।
राज्यको भूमिका
एआईको प्रभाव व्यवस्थापन गर्न राज्यको भूमिका निर्णायक हुन्छ । नेपाल सरकारले राष्ट्रिय एआई नीति निर्माण गर्नु पर्छ, जसले शिक्षा, रोजगारी, उद्योग, स्वास्थ्य र सार्वजनिक सेवामा एआई प्रयोगको स्पष्ट दिशा निर्धारण गरोस् । सिप विकास र पुनःतालिम कार्यव्रmम सञ्चालन गरेर विस्थापित हुने श्रमिकलाई नयाँ सिप सिकाउने व्यवस्था गर्नु पर्छ । शिक्षा पाठ्यक्रम सुधार गरेर डिजिटल साक्षरता, प्रविधि सिप र नवप्रवर्तन क्षमतालाई केन्द्रमा राख्नु पर्छ । निजी क्षेत्रसँग सहकार्य गरेर प्रविधि हस्तान्तरण, स्टार्ट अप प्रवर्धन र अनुसन्धानमा लगानी बढाउन आवश्यक छ । डिजिटल पूर्वाधार विस्तार, ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच र प्रविधि उपकरण उपलब्ध गराउनु पनि राज्यको प्राथमिकता हुनु पर्छ । एआईलाई भयको विषय होइन, अवसरका रूपमा लिनुपर्ने स्पष्ट नीति चाहिन्छ । यससँगै नैतिकता र मानव मूल्यको संरक्षण पनि उत्तिकै महìवपूर्ण छ । एआई प्रविधि भए पनि अन्तिम निर्णयको जिम्मेवारी मानवकै हुनु पर्छ । डाटा गोपनीयता, निर्णय पारदर्शिता, मानव गरिमा र सामाजिक न्याय सुनिश्चित गर्नु अनिवार्य छ ।
कृत्रिम बुद्धिमत्ता अब भविष्यको विषय होइन, वर्तमानको यथार्थ हो । नेपालका लागि एआई न पूर्ण सङ्कट हो न पूर्ण समाधान । यो तयारीको परीक्षा हो– हामी शिक्षा, सिप र नीतिमार्फत कत्तिको तयार छौँ भन्ने । नेपालले समयमै शिक्षा प्रणाली सुधा¥यो, युवामा डिजिटल सिप विकास ग¥यो र प्रविधिलाई समावेशी बनायो भने एआईले रोजगारी खोस्ने होइन, नयाँ सम्भावना सिर्जना गर्ने छ । नत्र भने प्रविधि अघि बढ्ने छ तर समाज भने पछाडि पर्ने खतरा रहने छ । आजको आवश्यकता स्पष्ट छ– एआईलाई मानव विकासको साधन बनाउने, मानवलाई प्रविधिको दास होइन ।