ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन २२ गते । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले अग्रता बढाउँदै लैजानुभएको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार पुनः नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठभन्दा ५३८ मतान्तरले अघि हुनुहुन्छ ।
धवलागिरि गाउँपालिका वडा नम्बर १ गुर्जा, २ लुलाङ, ३ मुना, ४ मुदी, ५ मल्कबाङ र ६ मराङको मतगणना सम्पन्न हुँदा निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनले १ हजार ३८१ मत प्राप्त गर्दै मतान्तर बढाउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ८४३, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ७३३ र नेकपाका अर्जुन थापाले ५९५ मत प्राप्त गर्नुभएको छ । अहिले वडा नं. ७ ताकमको मतगणना जारी छ ।
धवलागिरिमा जम्मा १० हजार ८३१ मतदाता रहेकामा ५ हजार ३३८ मत खसेको थियो । एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) चुनावी प्रतिस्पर्धामा छन् ।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), मङ्गोल नेसनल अर्गनाइजेसन, श्रम संस्कृति पार्टी, राष्ट्रिय जनमोर्चा र नेशनल रिपब्लिक नेपाल पनि चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको छ ।