हरिप्रसाद सुवेदी
पुतलीबजार, फागुन २२ गते । निर्वाचन आयोगबाट पत्र प्राप्त भएसँगै अन्योलमा रहेका स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को मतगणना सुरु हुने भएको छ ।
वडा नं. १० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र मतदातालाई वितरण गरिएको पाइएपछि उक्त क्षेत्रको मतगणना स्थगित गरिएको थियो ।
उक्त विषयमा देखिएको अन्योल समाधान गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाई दलीय सहमतिको आधारमा मतगणना अघि बढाउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको निर्वाचन आयोगका उपसचिव कृषिराम भुषालले जानकारी दिनुभएको छ ।
स्याङजा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा भने मतगणना जारी रहेको छ । प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनन्जय रेग्मीले अग्रता कायम गर्नुभएको छ ।
क्षेत्र नं. १ मा कुल १ लाख १७ हजार ९ सय ३० मतदाता रहेका थिए । तीमध्ये ६५ हजार १ सय ८६ जनाले मतदान गरेका थिए ।
समग्र स्याङजा जिल्लामा भने २ लाख ४८ हजार ९ सय ८१ मतदाता रहेका थिए । तीमध्ये १ लाख ३६ हजार ५ सय ३६ जनाले मतदान गरेका छन्, जुन कुल मतदाताको ५४.८४ प्रतिशत हो ।
निर्वाचन कार्यालय स्याङजाका अनुसार विगतका निर्वाचनमा निष्पक्षतामाथि विभिन्न आरोप लाग्ने गरे पनि यस पटकको निर्वाचन निष्पक्ष र स्वच्छ रूपमा सम्पन्न भएको जनाएको छ ।
यस पटकको निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र पारदर्शी बनाउन करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। अति संवेदनशील क्षेत्रमा नेपाली सेनासमेत परिचालन गरी निर्वाचन सम्पन्न गराइएको निर्वाचन कार्यालयले जनाएको छ ।