अमरराज नहर्की
तनहुँ, फागुन २२ गते । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहान १ बजेदेखि सुरु भएको छ । प्राप्त प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अगाडि देखिनुभएको छ । देवघाट गाउँपालिकाको मतगणनामा डा. वाग्लेको पक्षमा उल्लेख्य मत परेको छ ।
चार हजार ७६६ मत गन्दा रास्वपाका डा. वाग्लेले दुई हजार १३१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले एक हजार ४ मत र नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपानेले ९२७ मत प्राप्त गर्नुभएको छ ।
यसैबिच, तनहुँ क्षेत्र नम्बर २ मा पनि मतगणनाको तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायका अनुसार आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गर्ने तयारी गरिएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार यस निर्वाचनमा कुल ५१.७४ प्रतिशत मतदान भएको छ । जसमा महिला ७१ हजार ३ सय ६९ र पुरुष ६० हजार २ सय ५१ गरी कुल एक लाख ३१ हजार ६२० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।