• १६ चैत २०८२, सोमबार

हुम्लामा ६० मतदान केन्द्रका मतपेटिका सदरमुकाम आइपुगे

blog

लिमीको सुनखानी आवि मतदान केन्द्रका मतपेटिका बिहीबार बेलुका हेलिकोप्टरमार्फत ढुवानी गरिँदै। तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, फागुन २२ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला हुम्लाका ६० वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट आइपुगेका छन्। कारागारमा रहेको एउटा अस्थायी मतदान केन्द्रसहित सातवटै गाउँपालिकाका अधिकांश मतपेटिका सिमकोट ल्याइएको हो।

नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका ६० वटा मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिनुभयो।

अब नाम्खा गाउँपालिका–६ का हिमशिखर प्रावि, भृकुटी प्रावि (लिमी)र हिमालय प्रावि (चाला), चंखेली गाउँपालिका–५ को डाँफे आवि (नेप्का)तथा ताँजाकोट गाउँपालिका–३ को बानादेव प्रावि (मासपुर) का मतपेटिका आउन बाँकी रहेको उहाँले बताउनुभयो। ती मतपेटिका ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर सिमकोट आइपुगी लिमी क्षेत्रतर्फ उडेको छ। अब करिब तीन घण्टाभित्र बाँकी पाँचै मतदान केन्द्रका मतपेटिका पनि ढुवानी भइसक्ने उहाँको भनाइ छ।

छिटफुट घटनाबाहेक जिल्लाका सातवटै गाउँपालिकाका ६४ वटा मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएको थियो। जिल्लाभर ६५ दशमलव ३५ प्रतिशत मतदान भएको छ। कुल २२ हजार ४६७ मत खसेकोमा ११ हजार ४०९ पुरुष र ११ हजार ५८ महिला मतदाताले मतदान गरेका छन्।

जिल्लामा कुल ३४ हजार ३७२ मतदाता रहेका छन्। तीमध्ये १८ हजार २१ पुरुष र १६ हजार ३५१ महिला मतदाता छन्। हुम्लामा ६० वटा मतदान स्थल र ६४ वटा मतदान केन्द्र रहेका छन्।

यसैबीच, कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा चार जना कैदीबन्दीले पनि मतदान गरेका छन्। छिटफुट घटनाबाहेक जिल्लाभरका सबै मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। सुरुमा एक–दुई मतदान केन्द्रमा सामान्य विवाद भए पनि अधिकांश स्थानमा समयमै मतदान सुरु भएको थियो।