रमेश विश्वकर्मा
गुल्मी, फागुन २२ गते। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान गणना गुल्मीमा शुक्रबार बिहान १० बजेदेखि गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयको सभाहलमा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले यस जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना आज बिहान १० बजेदेखि गरिने निर्णय गरेको हो।
निर्वाचन क्षेत्र क्षेत्र नम्बर–१ को मतगणना जिल्ला समन्वय समितिको हलमा र क्षेत्र नम्बर–२ को मतगणना रेसुङ्गा बहुमुखी क्याम्पसको हलमा गरिने भएको छ। मतगणना स्थलमा जाली, सिसिटिभि, क्यामेरालगायतका सुरक्षा प्रबन्धहरु मिलाइएको छ। तीन वटा टोलीबाट मतगणना गरिने जनाइएको छ। मतगणना गर्ने प्रत्येक टोलीमा एक उम्मेदवारको तर्फबाट १ जनाका दरले मतगणनामा प्रतिनिधि रहने छन्।
यस जिल्लामा ५१.३६ प्रतिशत मत खसेको छ। ६४ हजार ८९७ जना महिला, ५३ हजार दुई जना पुरुष र दुई जना अन्य गरी एक लाख १७ हजार ९०१ जनाले मतदान गर्नुभएको थियो। निर्वाचन क्षेत्र नम्बर–१ मा ३६ हजार २८ जना महिला र २८ हजार ७५९ जना पुरुष गरी जम्मा ६४ हजार ७८७ जनाले मतदान गर्नुभयो।
यस क्षेत्रमा एक लाख २२ हजार १८६ जना मतदाता रहनुभएको थियो। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर–२ मा २८ हजार ८६९ जना महिला, २४ हजार २४३ जना पुरुष र दुई जना अन्य गरी जम्मा ५३ हजार ११४ जनाले मतदान गर्नुभयो। यस क्षेत्रमा एक लाख ७ हजार ३६३ जना मतदाता रहनुभएको थियो।