वासुदेव शर्मा
जाजरकोट फगुन २२ गते । दुई वर्ष अघि भूकम्पले क्षतिग्रस्त जाजरकोट अदालतको भवनम मतगणना हुने भएको छ । बिहीवार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनका मतपेटिका मुख्य निर्वाचन कार्यालयमा आइपुगेका छन् । सबै मतदान केन्द्रबाट मतपेटिका जाजरकोट सदरमुकाम पुर्याएको हो ।
भौगोलिक विकटताका कारण राती अबेर मतपेटिका सदरमुकाममा ल्याएको छ । केहि समयमा सर्वदलिय बैठक बसी मतगणना गर्ने मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो । बिहान ९ बजे सर्वदलीय बैठक बोलाएका छौँ, केहि समयपछि मतगणना कार्य प्रारम्भ गरिने छ ।
जिल्लामा मतगणना गर्ने सुुरक्षित स्थान नभएपछि भूकम्पले चिरा परेको भवनमा मतगणना गर्नु परेको छ । सरोकारवाला निकायले पहल नगरेपछि जोखिमपूर्ण भवन प्रयोगमा ल्याएको छ ।
एक लाख ७ हजार १९१ मतदाता रहेको जाजरकोटमा ६१ हजार ५६५ मत खसेको छ । मतदानमा भेरी नगरपालिकामा १२ हजार ९४१ जना, छेडागाड नगरापालिकामा २१ हजार ३५६ मतदाता रहेका मध्य ११ हजार ९५४ मत खसेको छ । नलगाड नगरपालिकामा १७ हजार २१ मतदाता १० हजार ८४३, बारेकोट गाउँपालिकामा ११ हजार ७९२ मतदाता मध्य ७ हजार ६३२ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्याकुरेलका अनुसार कुशे गाउँपालिकामा १२ हजार ५९३ मतदाता मध्य ७ हजार १६३ जनाले मतदान गरेका छन् ।
जुनीचाँदे गाउँपालिकामा १२ हजार २८० मतदाता मध्य ६ हजार ३६६ मतदान गरेका छन् । शिवालय गाउँपालिकामा ९ हजार १९१ मतदाता मध्य ४ हजार ५३५ जना, कारागार कार्यालय जाजरकोटमा ६१ जनाले मतदान गरेको थिए ।