• २२ फागुन २०८२, शुक्रबार

मकवानपुरका दुवै क्षेत्रमा मतगणनाको तयारी

blog

हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविमा रहेको मत गणनास्थलमा सर्वदलीय बैठक बस्दै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, फागुन २२ गते ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना शुक्रबारबाट सुरु गरिने भएको छ ।

हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविमा मतगणना गरिएको हो । बिहीबार सम्पन्न मतदानपछि मतपेटिकाहरू सुरक्षित रूपमा मतगणना स्थलमा ल्याएर राखिएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने गरी तयारी गरिएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँले सर्वदलीय बैठकमा मतगणनाको प्रक्रिया, गणनास्थलको व्यवस्थापन तथा प्रतिनिधिहरूको उपस्थितिबारे सहमति भएलगत्तै मतगणना सुरु गरिने बताउनुभयो ।

मतगणना कक्षमा तारजालीसहित आवश्यक सुरक्षाको व्यवस्था मिलाइएको छ । गणनास्थलमा सुरक्षाकर्मीको कडा सुरक्षा व्यवस्थासँगै सीसीटिभी क्यामेरा जडान गरिएको छ ।

निर्वाचन कार्यालयको मकवानपुरमा एक लाख ८६ हजार ५५१ (५९ प्रतिशत) मत खसेको प्रारम्भिक अनुमान छ । कुल मतको पुरुष ९६ हजार ६३४, महिला ८९ हजार ९१२, अन्य पाँच मत खसेको अनुमान गरिएको हो ।

निर्वाचन क्षेत्र १ मा कुल ९५ हजार ३१० मा पुरुष  ४७ हजार ६७०, महिला ४७ हजार ६३६ र अन्य चार मत खसेको छ ।

यस्तै, निर्वाचन क्षेत्र २ मा कुल ९१ हजार २४१ ले मतदान गरेकोमा पुरुष ४८ हजार ९६४, महिला ४२ हजार २७६ र अन्य एक जनाले मतदान गरेका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । निर्वाचनमा दुई हजार २४४ कर्मचारी खटिएका छन् ।

निर्वाचनका लागि मकवानपुरभर १६७ मतदानस्थल र ३७४ मतदान केन्द्रबाट मतदान भएको थियो ।

जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । तीमध्ये मकवानपुर–१ मा एक लाख ५८ हजार ४३४ र मकवानपुर–२ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । जिल्लामा भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एक–एक मतदानस्थल राखिएको थियो ।