प्रतिनिधि सभा सदस्यका लागि बिहीबार देशभरि एकै चरणमा आमनिर्वाचन सम्पन्न भएको छ । मतदान स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएर मुलुकलाई नयाँ निकास दिन देशभरका मतदाताले उत्साहपूर्वक मतदान गरे । यो निर्वाचनको परिणामले मुलुकमा विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्ने अपेक्षा गरिएको छ । मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्दै सुशासनका लागि गत भदौ २३ र २४ गते नवयुवा (जेनजी) पुस्ताले गरेको आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले यो निर्वाचन गराएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधान न्यायाधीश कार्कीलाई भदौ २७ गते अन्तरिम प्रधानमन्त्री बनाएर छ महिना (फागुन २१) मा आमनिर्वाचन गर्न कार्यादेश दिनुभएको थियो । सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चार माध्यम र सम्बन्धित निकाय सबैको अथक र सकारात्मक प्रयासले यो ऐतिहासिक निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको छ । यसका लागि अहोरात्र खटिएको सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा पर्यवेक्षकको योगदान प्रशंसनीय छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार नै निर्वाचन हो । जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिले मुलुक खरानी अवस्थामा पुगेको र विश्वास टुटेको अवस्थाबाट उठेर छ महिनामा चुनाव गराउने कुरा निकै जोखिम र चुनौतीपूर्ण काम थियो । यसका लागि प्रधानमन्त्री कार्की अहोरात्र खटिएर निकै बुद्धिमत्तापूर्ण ढङ्गले सबै पक्षलाई विश्वासमा लिएर ऐतिहासिक काम गर्नुभयो । त्यसैको परिणामस्वरूप यो निर्वाचन गराउन सम्भव भयो । प्रधानमन्त्री कार्कीले इतिहासकै कठिन मोडमा देशको पहिलो महिला प्रधानमन्त्रीको जिम्मेवारी समालेर देशलाई नेतृत्व र निकास दिनुभयो ।
विसं २०८४ का लागि निर्धारित आवधिक आमनिर्वाचन मुलुकको विशिष्ट परिस्थितिले दुई वर्षअघि नै सम्पन्न गरिएको हो । व्यवस्थापिका संसद्का दुई सदनमध्ये २७५ सदस्यीय तल्लो सदन प्रतिनिधि सभाको सम्पन्न यस निर्वाचनबाट प्रत्यक्ष मतदान प्रणाली अन्तर्गत १६५ जना सदस्य निर्वाचित हुँदै छन् भने ११० जना समानुपातिक प्रतिनिधित्वबाट छानिँदै छन् । निर्वाचन आयोगका अनुसार यस पटक मतदाताको सङ्ख्या एक करोड ८९ लाख तीन हजार ६८९ रहेको छ । त्यसमध्ये पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८, महिला मतदाता ९२ लाख ४० हजार १३१ र अन्य दुई सय जना छन् । निर्वाचनमा ६८ वटा राजनीतिक दलले भाग लिएका छन् । देशभरि तीन हजार ४०५ उम्मेदवार छन् । तीमध्ये १२ सयभन्दा बढी स्वतन्त्र उम्मेदवार छन् । उम्मेदवारमध्ये तीन हजार १६ जना पुरुष र ३८८ जना महिला उम्मेदवार छन् । अन्य उम्मेदवारको सङ्ख्या एक छ ।
प्रतिस्पर्धामा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टीलगायत छन् । यीमध्ये रास्वपा दोस्रो पालि निर्वाचनमा सहभागी भएको हो । त्यसबाहेक कुलमान घिसिङको उज्यालो नेपाल पार्टी, हर्क साम्पाङको श्रम संस्कृति पार्टीलगायत दलहरू यसपालि पहिलो पटक निर्वाचनमा सहभागी भएका छन् । नेपाली कांग्रेसले सभापति गगन थापा, नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् । कांग्रेस सभापति थापा सर्लाही–४ र एमाले अध्यक्ष ओली झापा–५ बाट चुनाव लड्नुभएको छ । ओलीसँग रास्वपाका वरिष्ठ नेता शाह प्रतिस्पर्धामा हुनुहुन्छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट र रास्वपाका सभापित रवि लामिछाने चितवन–२ मा उम्मेदवार बन्नुभएको छ ।
आयोगले प्रत्यक्ष निर्वाचित १६५ सिटको मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मतदान भएको जानकारी दिनुभयो । प्रत्यक्ष र समानुपातिक दुवैतर्फका सबै मतपरिणाम फागुन २५ सम्म आउने सम्भावना छ । यसअघि २०७९ सालमा भएको चुनावमा अन्तिम परिणाम आउन दुई साताभन्दा बढी समय लागेको थियो । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ७५ हजार, नेपाली सेनाका ७९ हजार, सशस्त्र प्रहरीका साढे ३४ हजार, राष्ट्रिय अनुसन्धान विभागका एक हजार ९२१ जना र निर्वाचन प्रहरीका रूपमा एक लाख ४९ हजार सुरक्षाकर्मी खटिएका छन् । आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष प्रस्तुत गरेपछि सरकार बनाउन राष्ट्रपतिबाट आह्वान हुने छ । कुनै एउटै दलले एकल बहुमत अर्थात् २७५ मध्ये १३८ सिट ल्याए संविधानको धारा ७६ (१) अनुसार सरकार बनाउन दाबी गर्न पाउँछ । त्यस्तो नभए उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको मिलिजुली सरकार बन्ने प्रक्रियामा जाने छ ।