लोकतन्त्रका कैयौँ आयामलाई समेट्ने गरी एउटा भनाइ छ, ‘मतदानमा जति भावना सलबलाउँछन् उत्ति नै विवेकपूर्ण छाल आउँछन्...।’ लोकतन्त्रको एउटा आकस्मिकतालाई नेपालीले निर्वाचनका रूपमा उत्साहपूर्ण अपनाएका छन् । भयावह अनि अनिश्चितताको एउटा गहिरो अँध्यारोबाट अब हामी लोकतन्त्रको एउटा उज्यालोतर्फ अघि बढेका छौँ । यो निर्वाचन सामान्य निर्वाचन थिएन अर्थात् हामीले यो निर्वाचन सामान्य समयमा गरेका वा भाग लिएका होइनौँ । एउटा भयावह स्थितिले घेरेको समयमा त्यसको निकासका रूपमा फागुन २१ को व्यग्रता थियो; जसलाई हामीले निकै उत्साह अनि शान्तिपूर्ण रूपमा भव्य र सभ्यताका साथ पार गरेका छौँ ।
अबको केही घण्टाभित्रै मतपरिणाम आउन थाल्ने छन् । त्योभन्दा पनि धेरै अबका केही घण्टा अनेक उद्वेगको उछाल हुने छ । जितका जयजयकार अनि पराजयका निराशा र आक्रोश फेरि अर्को विडम्बना बन्न सक्छ । अबको समय भनेको निर्वाचन परिणामको सहर्ष स्वीकारोक्ति र संयमता नै हो । त्यसैबाट हामीले रोजेको यो निकासको बाटो अघिसम्म पुग्ने छ । नत्र फेरि हामी बिचैमा अलमलमा पर्ने छौँ । यो देशलाई फेरि उस्तै अन्योलको दोसाँधमा छोड्ने छौँ । निर्वाचन भनेको जितहारको एउटा परीक्षा पनि हो । एउटाले जिते अर्काले हार्छ, एउटाले हारे अर्काले जित्छ । सबैले जित्दैनन् र सबैले हार्दैनन् पनि । राजनीतिक जीवनको एउटा मान्यता के हो भने एउटा जित वा एउटा हारले त्यो जीवनको बाटो सकिँदैन । त्यसले नै निर्धारण गर्छ आगामी बाटा कस्तो र कहाँ कहाँ हुने छन् भन्ने ।
फागुन २१ को यात्रारम्भ सुखद थिएन । २०८२ भदौ २३ गते नवपुस्ताको विद्रोह अनि नरसंहार र त्यसपछि विध्वंसात्मक परिस्थितिले हामीलाई एकाएक खरानीमा पु¥यायो । संसद् जल्यो, सिंहदरबार जल्यो । सर्वोच्च न्यायालय जल्यो । देशका कैयौँ इतिहास खरानी भए । आमनागरिकको सम्पत्ति खरानी भयो । त्योभन्दा ठुलो र अमूल्य कैयाँै कलिला जीवन ढले । कैयौँका जिन्दगी खलबलिएका छन् । यद्यपि विद्रोहको परिणाम सामान्य हुँदैन । त्यसले निम्त्याउने क्षति कुनै अङ्कगणितले समेट्दैन । तथापि भदौ २३ को नवपुस्ता विद्रोह हिंसा वा विध्वंसको प्रारम्भ भने थिएन । परिस्थितिको प्रारब्धले त्यसलाई कतिसम्म भयावह बनायो भने हामीले चाहेर पनि त्यसलाई रोक्न वा छेक्न सक्ने स्थिति थिएन । कसैले केही गर्न सक्ने परिस्थिति थिएन । कोही कसैको नियन्त्रण वा नेतृत्वमा थिएन । बेकाबु भइसकेको त्यो परिस्थितिको जिम्मेवार भने हामी नै थियौँ ।
हाम्रै पुस्ता थियो अनि हामीले नै निर्माण गरेको नेतृत्वको जग थियो । त्यही जगमा सधैँ सत्ताका ठेकेदार बनिरहने सत्तालोलुप थिए; जसले परिवर्तनलाई रोक्न खोजे । समृद्धिका उज्याला किरणलाई हत्केलाले छेक्न खोजे । एउटा पुस्ताले बाँच्न खोजेको सम्मानित जीवन र त्यसको भविष्यलाई बेवास्ता गरिदिए । त्यसैको परिणाम थियो भदौ २३ को विद्रोह; जो हाम्रै नवपुस्ताको एउटा आह्वान मात्रै थियो । उसको आकाङ्क्षा र चाहना थियो । यही नेतृत्वसँगको अपेक्षा र आशा सडकमा पोखिएका थिए; त्योभन्दा बढी केही थिएन ।
विद्रोहको त्यो सङ्कल्प यात्रामा समाजका केही यस्ता कुत्सित आत्मा मिसिए; जो उच्छृङ्खल अनि उद्दण्डका पराकाष्ठा थिए । तिनैले पहिला नरसंहार निम्त्याए अनि भदौ २४ को विध्वंस पनि । जति दोषी ती नरसंहारकारी र विध्वंसकारी छन्; त्योभन्दा अझ धेरै दोषी अघिल्लो भएका नाताले हाम्रो पुस्ता पनि त्यसको भागीदार छ, हुनु पनि पर्छ । कोही पनि केही गरी यो जिम्मेवारीबाट भाग्न पाउँदैन । भाग्न दिनु पनि हुँदैन । त्यसले मात्रै हाम्रा सयौँ निर्दोष र कलिला आत्माले न्याय पाउने छ । त्यस कारण पनि भदौ २३ देखि फागुन २१ सम्मको यो यात्रा इतिहासकै सबैभन्दा भयावह, अनिश्चित, अन्योल र अनिश्चितताले भरिएका थिए । हामीले यो यात्राको एउटा सबैभन्दा कठिन बाटो पार गरिसकेका छौँ । यो घनघोर अनिश्चितता इतिहासकै सबैभन्दा भयावह थियो । अन्योल र अन्योन्याश्रित कैयौँ प्रश्न थिए । त्यसलाई पनि आममतदाताले निकै उत्साहपूर्ण तवरबाट मतदान गरेर पार गरिसकेका छौँ ।
अब बाटो स्पष्ट छ । अगाडि देशको उज्यालो भविष्य पर्खिबसेको छ । नवपुस्ता अनि आगामी पुस्ताको एउटा सुनौलो भविष्य कुरिरहेको छ । सम्भावनाका यी उज्याला समाउनका लागि अब नयाँ संसद् अनि सरकारले पुस्ताको भावना अनुसार आफ्नो कार्यदिशा तय गर्नुपर्ने छ । लोकतन्त्रमा एउटा भनाइ छ, ‘जनता आफ्नो सरकारसँग डराउनु पर्दैन, बरु सरकार आफ्ना जनतासँग सधैँ डराइरहनु पर्छ...।’ किनकि लोकतन्त्रको पहरेदार सधैँ जनता हुन्छन्, सरकार होइन । सरकार एउटा साधन मात्रै हो, यो नै साध्य होइन । मतदान भनेको मात्रै कसैलाई आफ्नो मतदान गर्नु वा दिनु मात्रै होइन; बरु यो त लोकतन्त्रको आधारभूत जगमा लेखिएको एउटा मौलिक लोकतान्त्रिक अधिकार हो । अझ यति मात्रै होइन, मतपेटिकाभित्र रहेका करोडौँ मतपत्रमा मतदाताले ‘छाप’ मात्रै लगाएका छैनन् । उनीहरूका भावना पनि त्यसमा कोरिएका छन् । नवपुस्ता अनि आगामी पुस्ताका भविष्यका आशा, सपना गाँसिएका छन् । यी सबको भारी लिएर अब जनताले चुनेका प्रतिनिधि संसद् पुग्ने छन् र सरकार बनाउने छन् । यो संसद् अनि सरकार अब पहिलाको जस्तो नहोस् ।
नयाँ पुस्तालाई सधैँ बेवास्ता गरिरहने, जनताका आकाङ्क्षा भुलेर आफ्ना कुत्सित मनसाय र स्वार्थ पूरा गर्नका लागि संसद् र सरकारको भ¥याङ उक्लिरहने नेता र नेतृत्वलाई जनताले चाह्यो भने केसम्म गर्न सक्छन् भन्ने उदाहरण भदौ २३ हो । त्यसलाई भुल्न त सजिलो होला, मानवीय प्रवृत्ति नै हो । त्यसलाई पनि एउटा सानो खुसीका अघि पीडाका कैयौँ पहाडलाई भुलिदिने हामी नेपालीको बानी छ । अब त्यसो भन्दैमा कसैलाई केही पनि छुट छैन । अब आउने संसद् र सरकारलाई देशमा शासन चलाउने मात्रै छुट छैन । आफू र आफ्ना परिवारको स्वार्थका लागि मात्रै काम गर्ने छुट पनि हुँदैन । मात्रै संसद् हुँ वा मन्त्री हुँ भनेर नागरिकमाथि हैकम चलाउने र शासक बन्ने छुट पनि छैन । मतका पोका जिम्मेवारीका भारी हुन्; जसलाई फेरि बिचैमा बिसाएर बाटो बिराउने छुट अब कसैलाई पनि छैन । तसर्थ यो आठ दशक लामो प्रजातान्त्रिक शासनयात्रामा दोहोरिएका सबै गल्ती र कमजोरीलाई अब हामीले यहीँनेर बिसाएर नयाँ यात्राको थालनी गर्नु पर्छ । फागुन २१ र त्योभन्दा अघि भदौ २३ अनि २४ को सबैभन्दा ठुलो अन्तर्य यही नै हो ।
नेपालमा बहुदलीय लोकतान्त्रिक संसदीय शासनपद्धति छ । यहाँ सबैभन्दा धेरै संसद् जित्ने दलले सरकारको नेतृत्व गर्न पाउँछ वा संसद्भित्र जुन राजनीतिक दलले धेरै सांसदको समर्थन पाउँदा सामान्यतया उसैले सरकारको नेतृत्व गर्छ । हामीले अपनाएको शासनपद्धति वा संसदीय पद्धतिभित्र कहिलेकाहीँ बहुमत र अल्पमतको कदरका बारेमा पनि कैयौँ प्रश्न उठेका छन् । हजारौँ मत पाएर पनि केही सय वा मात्रै केही सङ्ख्याको मतान्तरमा जितहार पनि हुन सक्छ । उदाहरणका लागि २० हजार मत ल्याउने वा १९ हजार ९९९ मत ल्याउनेमध्ये २० हजार ल्याउनेकै जित हुन्छ । अर्थात् एक मत नपुगेका कारण अर्का उम्मेदवारको पराजय हुन्छ । यसको मतलब एक मतले पराजय हुने उम्मेदवारसँग मत नभएको होइन । ऊ पनि उत्तिकै हकदार हुन्छ जत्तिको हकदार जित्नेको हुन्छ । यो मानेमा कि त्यत्तिकै जनताका भावना पराजित हुने उम्मेदवारसँग गाँसिएका छन् । पराजित हुने उम्मेदवारलाई भोट हालेका ती १९ हजार ९९९ मतदाताको भावनासमेत २० हजार मत पाएको अर्को उम्मेदवारले कदर गर्नु पर्छ । मतदान एउटा कुरा हो । यो मात्रै गणितीय हिसाबकिताब हो ।
एउटा जनप्रतिनिधिका लागि सबै जनता बराबरी हुन्छन् । सबै नागरिकको जिम्मेवारी त्यो मतभित्र हुन्छ, जुन मत उसले प्राप्त गरेको हुन्छ । त्यस कारण लोकतन्त्र भनेको हारजितको मात्रै अङ्कगणित होइन । बरु त्यसको असली अर्थ एउटा जनप्रतिनिधिले आफ्ना नागरिकप्रतिको जिम्मेवारीले निर्धारण गर्छ । आफू प्रतिनिधि बनेर कति उसले आफ्ना नागरिकको अपेक्षा पूरा गर्न सक्छ ? कति उसले आफूले गरेका वाचा पूरा गर्न सक्छ ? ऊ नै असली जनप्रतिनिधि कहलाउने छ ।