• २२ फागुन २०८२, शुक्रबार

नयाँ यात्राको थालनी

blog

लोकतन्त्रका कैयौँ आयामलाई समेट्ने गरी एउटा भनाइ छ, ‘मतदानमा जति भावना सलबलाउँछन् उत्ति नै विवेकपूर्ण छाल आउँछन्...।’ लोकतन्त्रको एउटा आकस्मिकतालाई नेपालीले निर्वाचनका रूपमा उत्साहपूर्ण अपनाएका छन् । भयावह अनि अनिश्चितताको एउटा गहिरो अँध्यारोबाट अब हामी लोकतन्त्रको एउटा उज्यालोतर्फ अघि बढेका छौँ । यो निर्वाचन सामान्य निर्वाचन थिएन अर्थात् हामीले यो निर्वाचन सामान्य समयमा गरेका वा भाग लिएका होइनौँ । एउटा भयावह स्थितिले घेरेको समयमा त्यसको निकासका रूपमा फागुन २१ को व्यग्रता थियो; जसलाई हामीले निकै उत्साह अनि शान्तिपूर्ण रूपमा भव्य र सभ्यताका साथ पार गरेका छौँ । 

अबको केही घण्टाभित्रै मतपरिणाम आउन थाल्ने छन् । त्योभन्दा पनि धेरै अबका केही घण्टा अनेक उद्वेगको उछाल हुने छ । जितका जयजयकार अनि पराजयका निराशा र आक्रोश फेरि अर्को विडम्बना बन्न सक्छ । अबको समय भनेको निर्वाचन परिणामको सहर्ष स्वीकारोक्ति र संयमता नै हो । त्यसैबाट हामीले रोजेको यो निकासको बाटो अघिसम्म पुग्ने छ । नत्र फेरि हामी बिचैमा अलमलमा पर्ने छौँ । यो देशलाई फेरि उस्तै अन्योलको दोसाँधमा छोड्ने छौँ । निर्वाचन भनेको जितहारको एउटा परीक्षा पनि हो । एउटाले जिते अर्काले हार्छ, एउटाले हारे अर्काले जित्छ । सबैले जित्दैनन् र सबैले हार्दैनन् पनि । राजनीतिक जीवनको एउटा मान्यता के हो भने एउटा जित वा एउटा हारले त्यो जीवनको बाटो सकिँदैन । त्यसले नै निर्धारण गर्छ आगामी बाटा कस्तो र कहाँ कहाँ हुने छन् भन्ने । 

फागुन २१ को यात्रारम्भ सुखद थिएन । २०८२ भदौ २३ गते नवपुस्ताको विद्रोह अनि नरसंहार र त्यसपछि विध्वंसात्मक परिस्थितिले हामीलाई एकाएक खरानीमा पु¥यायो । संसद् जल्यो, सिंहदरबार जल्यो । सर्वोच्च न्यायालय जल्यो । देशका कैयौँ इतिहास खरानी भए । आमनागरिकको सम्पत्ति खरानी भयो । त्योभन्दा ठुलो र अमूल्य कैयाँै कलिला जीवन ढले । कैयौँका जिन्दगी खलबलिएका छन् । यद्यपि विद्रोहको परिणाम सामान्य हुँदैन । त्यसले निम्त्याउने क्षति कुनै अङ्कगणितले समेट्दैन । तथापि भदौ २३ को नवपुस्ता विद्रोह हिंसा वा विध्वंसको प्रारम्भ भने थिएन । परिस्थितिको प्रारब्धले त्यसलाई कतिसम्म भयावह बनायो भने हामीले चाहेर पनि त्यसलाई रोक्न वा छेक्न सक्ने स्थिति थिएन । कसैले केही गर्न सक्ने परिस्थिति थिएन । कोही कसैको नियन्त्रण वा नेतृत्वमा थिएन । बेकाबु भइसकेको त्यो परिस्थितिको जिम्मेवार भने हामी नै थियौँ । 

हाम्रै पुस्ता थियो अनि हामीले नै निर्माण गरेको नेतृत्वको जग थियो । त्यही जगमा सधैँ सत्ताका ठेकेदार बनिरहने सत्तालोलुप थिए; जसले परिवर्तनलाई रोक्न खोजे । समृद्धिका उज्याला किरणलाई हत्केलाले छेक्न खोजे । एउटा पुस्ताले बाँच्न खोजेको सम्मानित जीवन र त्यसको भविष्यलाई बेवास्ता गरिदिए । त्यसैको परिणाम थियो भदौ २३ को विद्रोह; जो हाम्रै नवपुस्ताको एउटा आह्वान मात्रै थियो । उसको आकाङ्क्षा र चाहना थियो । यही नेतृत्वसँगको अपेक्षा र आशा सडकमा पोखिएका थिए; त्योभन्दा बढी केही थिएन । 

विद्रोहको त्यो सङ्कल्प यात्रामा समाजका केही यस्ता कुत्सित आत्मा मिसिए; जो उच्छृङ्खल अनि उद्दण्डका पराकाष्ठा थिए । तिनैले पहिला नरसंहार निम्त्याए अनि भदौ २४ को विध्वंस पनि । जति दोषी ती नरसंहारकारी र विध्वंसकारी छन्; त्योभन्दा अझ धेरै दोषी अघिल्लो भएका नाताले हाम्रो पुस्ता पनि त्यसको भागीदार छ, हुनु पनि पर्छ । कोही पनि केही गरी यो जिम्मेवारीबाट भाग्न पाउँदैन । भाग्न दिनु पनि हुँदैन । त्यसले मात्रै हाम्रा सयौँ निर्दोष र कलिला आत्माले न्याय पाउने छ । त्यस कारण पनि भदौ २३ देखि फागुन २१ सम्मको यो यात्रा इतिहासकै सबैभन्दा भयावह, अनिश्चित, अन्योल र अनिश्चितताले भरिएका थिए । हामीले यो यात्राको एउटा सबैभन्दा कठिन बाटो पार गरिसकेका छौँ । यो घनघोर अनिश्चितता इतिहासकै सबैभन्दा भयावह थियो । अन्योल र अन्योन्याश्रित कैयौँ प्रश्न थिए । त्यसलाई पनि आममतदाताले निकै उत्साहपूर्ण तवरबाट मतदान गरेर पार गरिसकेका छौँ । 

अब बाटो स्पष्ट छ । अगाडि देशको उज्यालो भविष्य पर्खिबसेको छ । नवपुस्ता अनि आगामी पुस्ताको एउटा सुनौलो भविष्य कुरिरहेको छ । सम्भावनाका यी उज्याला समाउनका लागि अब नयाँ संसद् अनि सरकारले पुस्ताको भावना अनुसार आफ्नो कार्यदिशा तय गर्नुपर्ने छ । लोकतन्त्रमा एउटा भनाइ छ, ‘जनता आफ्नो सरकारसँग डराउनु पर्दैन, बरु सरकार आफ्ना जनतासँग सधैँ डराइरहनु पर्छ...।’ किनकि लोकतन्त्रको पहरेदार सधैँ जनता हुन्छन्, सरकार होइन । सरकार एउटा साधन मात्रै हो, यो नै साध्य होइन । मतदान भनेको मात्रै कसैलाई आफ्नो मतदान गर्नु वा दिनु मात्रै होइन; बरु यो त लोकतन्त्रको आधारभूत जगमा लेखिएको एउटा मौलिक लोकतान्त्रिक अधिकार हो । अझ यति मात्रै होइन, मतपेटिकाभित्र रहेका करोडौँ मतपत्रमा मतदाताले ‘छाप’ मात्रै लगाएका छैनन् । उनीहरूका भावना पनि त्यसमा कोरिएका छन् । नवपुस्ता अनि आगामी पुस्ताका भविष्यका आशा, सपना गाँसिएका छन् । यी सबको भारी लिएर अब जनताले चुनेका प्रतिनिधि संसद् पुग्ने छन् र सरकार बनाउने छन् । यो संसद् अनि सरकार अब पहिलाको जस्तो नहोस् । 

नयाँ पुस्तालाई सधैँ बेवास्ता गरिरहने, जनताका आकाङ्क्षा भुलेर आफ्ना कुत्सित मनसाय र स्वार्थ पूरा गर्नका लागि संसद् र सरकारको भ¥याङ उक्लिरहने नेता र नेतृत्वलाई जनताले चाह्यो भने केसम्म गर्न सक्छन् भन्ने उदाहरण भदौ २३ हो । त्यसलाई भुल्न त सजिलो होला, मानवीय प्रवृत्ति नै हो । त्यसलाई पनि एउटा सानो खुसीका अघि पीडाका कैयौँ पहाडलाई भुलिदिने हामी नेपालीको बानी छ । अब त्यसो भन्दैमा कसैलाई केही पनि छुट छैन । अब आउने संसद् र सरकारलाई देशमा शासन चलाउने मात्रै छुट छैन । आफू र आफ्ना परिवारको स्वार्थका लागि मात्रै काम गर्ने छुट पनि हुँदैन । मात्रै संसद् हुँ वा मन्त्री हुँ भनेर नागरिकमाथि हैकम चलाउने र शासक बन्ने छुट पनि छैन । मतका पोका जिम्मेवारीका भारी हुन्; जसलाई फेरि बिचैमा बिसाएर बाटो बिराउने छुट अब कसैलाई पनि छैन । तसर्थ यो आठ दशक लामो प्रजातान्त्रिक शासनयात्रामा दोहोरिएका सबै गल्ती र कमजोरीलाई अब हामीले यहीँनेर बिसाएर नयाँ यात्राको थालनी गर्नु पर्छ । फागुन २१ र त्योभन्दा अघि भदौ २३ अनि २४ को सबैभन्दा ठुलो अन्तर्य यही नै हो । 

नेपालमा बहुदलीय लोकतान्त्रिक संसदीय शासनपद्धति छ । यहाँ सबैभन्दा धेरै संसद् जित्ने दलले सरकारको नेतृत्व गर्न पाउँछ वा संसद्भित्र जुन राजनीतिक दलले धेरै सांसदको समर्थन पाउँदा सामान्यतया उसैले सरकारको नेतृत्व गर्छ । हामीले अपनाएको शासनपद्धति वा संसदीय पद्धतिभित्र कहिलेकाहीँ बहुमत र अल्पमतको कदरका बारेमा पनि कैयौँ प्रश्न उठेका छन् । हजारौँ मत पाएर पनि केही सय वा मात्रै केही सङ्ख्याको मतान्तरमा जितहार पनि हुन सक्छ । उदाहरणका लागि २० हजार मत ल्याउने वा १९ हजार ९९९ मत ल्याउनेमध्ये २० हजार ल्याउनेकै जित हुन्छ । अर्थात् एक मत नपुगेका कारण अर्का उम्मेदवारको पराजय हुन्छ । यसको मतलब एक मतले पराजय हुने उम्मेदवारसँग मत नभएको होइन । ऊ पनि उत्तिकै हकदार हुन्छ जत्तिको हकदार जित्नेको हुन्छ । यो मानेमा कि त्यत्तिकै जनताका भावना पराजित हुने उम्मेदवारसँग गाँसिएका छन् । पराजित हुने उम्मेदवारलाई भोट हालेका ती १९ हजार ९९९ मतदाताको भावनासमेत २० हजार मत पाएको अर्को उम्मेदवारले कदर गर्नु पर्छ । मतदान एउटा कुरा हो । यो मात्रै गणितीय हिसाबकिताब हो । 

एउटा जनप्रतिनिधिका लागि सबै जनता बराबरी हुन्छन् । सबै नागरिकको जिम्मेवारी त्यो मतभित्र हुन्छ, जुन मत उसले प्राप्त गरेको हुन्छ । त्यस कारण लोकतन्त्र भनेको हारजितको मात्रै अङ्कगणित होइन । बरु त्यसको असली अर्थ एउटा जनप्रतिनिधिले आफ्ना नागरिकप्रतिको जिम्मेवारीले निर्धारण गर्छ । आफू प्रतिनिधि बनेर कति उसले आफ्ना नागरिकको अपेक्षा पूरा गर्न सक्छ ? कति उसले आफूले गरेका वाचा पूरा गर्न सक्छ ? ऊ नै असली जनप्रतिनिधि कहलाउने छ ।