प्रेमराज सिम्खडा
कालीकोट, फागुन २१ गते । कालीकोट जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको हो।
जिल्लाभरिका १२८ मतदान केन्द्रको मत यकिन गर्दा ४२ हजार ४०३ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ। जसमा २० हजार ४७६ पुरुष र २१ हजार ९२७ महिला मतदाता रहेका छन्। यो कुल मतदाताको ४९.८६ प्रतिशत हो। विशेष गरी वृद्ध, महिला तथा पहिलोपटक मतदान गर्ने युवायुवतीहरूको उल्लेख्य सहभागिता देखिएको छ। कमाउने उमेरका पुरुष प्रायः रोजगारीका लागि भारततर्फ रहेकाले मतदानमा सहभागिता केही कम देखिएको हो।
जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलका अनुसार सुरक्षा व्यवस्था कडा पारिएकाले मतदान सहज तरिकाले सम्पन्न भएको छ। मतदान स्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएका कारण प्रक्रिया शान्तिपूर्ण रहेको प्रजिअ सुयलले बताउनुभयो। कुनै अप्रिय घटनाबिना मतदान सम्पन्न भई मतपेटिका जिल्ला सदरमुकाम ल्याउने क्रम जारी रहेको उहाँको भनाइ छ।
मतपेटिका सङ्कलन भएलगत्तै सम्भव भए आजै रातिदेखि, नत्र शुक्रबारदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिनुभयो। स्थानीय नागरिकले लोकतान्त्रिक अभ्यासमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका छन्।