राजन रावत
हुम्ला, फागुन २१ गते । अति संवेदनशील र विवादित बनेको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको सुनखानी प्रावि मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट बिहीबार साँझ ६ बजे मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको हो।
सुनखानी प्रावि मतदान केन्द्रका मतपेटिका र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षा संवेदनशीलताका कारण हेलिकोप्टरबाट ढुवानी गरिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो। सो मतदान केन्द्रमा कुल १६४ मत खसेको छ।
मतदान भइरहेका बेला लिमीको हल्जी गाउँका स्थानीयले बिरामीको नाममा विवाद सिर्जना गरेपछि केही समय मतदान कार्य स्थगित भएको थियो। बिरामीका लागि हल्जी गुम्बामा मतदानको छुट्टै व्यवस्था गर्न स्थानीयले माग गरेको र कर्मचारीले सो माग अस्वीकार गरेपछि विवाद उत्पन्न भएको मतदान अधिकृत निशा केसीले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीयले फर्जी मत खसाल्ने प्रयास गरे पनि कर्मचारीले नमानेका कारण केही समय तनाब उत्पन्न भएको थियो। स्थानीयले कर्मचारी बसेका तीनवटा कोठाका सामान बाहिर निकालेर ताला लगाइदिनुका साथै एउटा कुर्सीसमेत तोडफोड गरेका थिए।
स्थिति तनावपूर्ण भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई हेलिकोप्टरको व्यवस्थाका लागि माग गरेको थियो। सोहीअनुसार बिहीबार साँझ नै मतपेटिका र कर्मचारी ओसार्न सम्भव भएको हो। यसअघिको योजनाअनुसार लिमीका अन्य दुईवटा, नाम्खा–४ को चाला, चङ्खेली–५ को नेक्पा र ताँजाकोट गाउँपालिकाको मासपुर मतदान केन्द्रका मतपेटिका शुक्रबार हेलिकोप्टरबाट ढुवानी गरिनेछ।