• २१ फागुन २०८२, बिहिबार

म्याग्दीमा मतपेटिका सङ्कलन, शुक्रबार बिहानदेखि मतगणना

blog

मतदान सम्पन्न भएपछि मतपेटिका सङ्कलन गरिँदै। तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, फागुन २१ गते । म्याग्दीमा आज सम्पन्न भएको निर्वाचनको मतपेटिका सङ्कलन सुरु भएको छ। जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। म्याग्दीमा करिब ५४.२७ प्रतिशत मत खसेको छ।

एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार ३ सय ९७ मतदाता रहेकामा ४६ हजार ८ सय ९३ मत खसेको जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक विवरणमा उल्लेख छ। अहिले सदरमुकाम बेनीनजिक रहेका मतदान केन्द्रहरूबाट मतपेटिका आउने क्रम जारी छ। सङ्कलन भएका मतपेटिका जिल्ला समन्वय समितिको कार्यालयमा राख्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार बेनी नगरपालिकाअन्तर्गत रहेका मतदान केन्द्रहरूबाट मतपेटिका आउन थालेका छन्।

मुख्य निर्वाचन अधिकृत थापाले भन्नुभयो, “आज राति १२ बजेसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइपुग्नेछन्। भोलि बिहान ७ बजे सर्वदलीय र सर्वपक्षीय बैठक बसेपछि मतगणना सुरु गर्छौँ।” मतगणनाका लागि जिससको सभाहलमा मतगणना स्थल निर्माण गरिएको छ।

भौगोलिक रूपमा टाढा रहेको धवलागिरि गाउँपालिका–१ गुर्जा र रघुगङ्गा गाउँपालिका–८ कुइने मङ्गलेका मतपेटिका आइपुग्न करिब ६ घण्टा लाग्नेछ। जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन्। म्याग्दीका ८६ हजार ३ सय ९७ मतदातामध्ये ४२ हजार ३ सय ३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना अन्य मतदाता रहेका छन्। जिल्लामा ८२ मतदान स्थल, १ सय २० मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ।