बिष्णुप्रसाद पोखरेल
दमक, फागुन २१ गते । झापाका पाँचै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा क्षेत्र नं.५ अन्तर्गत सुर्योदय निमाविस्थित मतदान केन्द्रमा मतदान गर्नुभएको छ।
जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार बिहान ७ बजेदेखि नै निर्धारित समयअनुसार मतदान सुरु भएको हो। बिहानैदेखि मतदाताको सहभागिता उल्लेख्य रहेको उहाँले जानकारी दिनुभयो।
झापामा पाँच वटा निर्वाचन क्षेत्रमा कुल ९० जना उम्मेदवार चुनावी मैदानमा छन्। जिल्लामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन्। तीमध्ये ३ लाख ५८ हजार ३४६ पुरुष, ३ लाख ५५ हजार १८३ महिला र ८ जना अन्य मतदाता रहेका छन्, जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
निर्वाचनका लागि जिल्लाभर २८५ मतदान स्थल र ८१५ मतदान केन्द्र निर्धारण गरिएको छ। भयरहित मतदान सुनिश्चित गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो।