शिवशंङ्कर मिश्रा
बारा, फागुन २१ गते । बिहीबार बिहान ७ बजेदेखि बारा जिल्लामा शान्तिपूर्ण र उत्साहजनक वातावरणमा निर्वाचन कार्य सुरु भएको छ। जिल्लाभरका तोकिएका सबै मतदान केन्द्रमा निर्धारित समयमा मतदान प्रारम्भ भएको निर्वाचन अधिकारीहरूले जनाएका छन्।
महागढीमाई नगरपालिका–३ स्थित मतदान केन्द्रमा ७९ वर्षीय ज्येष्ठ नागरिक रामनाथ कलवारले पहिलो मत खसाल्दै आजको मतदान प्रक्रिया औपचारिक रूपमा सुरु भएको मतदान अधिकृत शिवशंङ्करप्रसाद यादवले जानकारी दिनुभयो । ज्येष्ठ मतदाताको सक्रिय सहभागिताले निर्वाचनप्रति नागरिकको भरोसा र लोकतान्त्रिक अभ्यासप्रति प्रतिबद्धता झल्काएको छ।
जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नविन औधरीका अनुसार बिहान ७ बजे नै जिल्लाका सबै मतदान केन्द्रमा मतदान सुरु भएको हो। निर्वाचनलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सबै तयारी पूरा गरिएको उहाँले बताउनुभयो।
यसैबिच, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले प्रशासनले व्यापक सुरक्षा व्यवस्था मिलाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य आवश्यक सुरक्षा निकाय परिचालित छन्। सम्भावित जोखिम क्षेत्रमा विशेष निगरानी व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो।
मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उल्लेखनीय उपस्थिति देखिएको छ। युवा, महिला, ज्येष्ठ नागरिक र पहिलो पटक मतदान गर्न आएका मतदाताहरू उत्साहपूर्वक लाइनमा उभिएका देखिन्छन्। स्थानीय प्रशासनका अनुसार आजको निर्वाचन महोत्सव मर्यादित, अनुशासित र सभ्य वातावरणमा अघि बढिरहेको छ।
लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र जनमतको सम्मानका लागि भइरहेको यस निर्वाचनमा नागरिकले चासोका साथ सहभागिता जनाएका छन्। जिल्लाभर शान्तिपूर्ण वातावरण कायम रहेको छ र मतदान प्रक्रिया साँझ ५ बजेसम्म सुचारु रहने छ।