• २१ फागुन २०८२, बिहिबार

निर्वाचन सुरक्षाका लागि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता

blog

ग्रामीण भेगमा निर्वाचन लक्षित गस्ती गर्दै सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवाललगायत। तस्बिर सौजन्य : सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवाल

प्रवीण कुमार शर्मा
रौतहट, फागुन २१ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सुरक्षालाई पूर्ण रूपमा सुनिश्चित गर्न रौतहटमा सुरक्षा जाँचमा कडाइ गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिल्लाका विभिन्न राजमार्ग तथा भित्री सडकहरूमा सुरक्षा जाँच तीव्र पारेका छन्।

निर्वाचनमा प्रतिबन्धित सामग्रीको ओसारपसार तथा सम्भावित घुसपैठ रोक्न सीमानाकामा सुरक्षा सतर्कता उच्च पारिएको बिओपी रामपुर खापका सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवालले जानकारी दिनुभयो।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल–भारत सहायक सीमानाकामा उच्च सतर्कता अपनाइएको तथा ग्रामीण भेगमा समेत सुरक्षा व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो।

निर्वाचनको विषयलाई लिएर हुनसक्ने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले गस्तीलाई अझ प्रभावकारी रूपमा बढाएको बताउँदै निरीक्षक सुवालले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन नियमित गस्तीका साथै सूचना सङ्कलन, खतरा मूल्याङ्कन, विश्लेषण तथा सूचना प्रवाहलाई प्रभावकारी बनाउने कार्य भइरहेको बताउनुभयो।

निर्वाचन लक्षित गस्तीलाई थप प्रभावकारी बनाउँदै मुख्य चोक, संवेदनशील क्षेत्र तथा सार्वजनिक स्थलहरूमा निगरानी बढाइएको उहाँले जानकारी दिनुभयो। सामाजिक सद्भाव भड्काउने प्रयास गर्ने व्यक्ति तथा समूहहरू माथि पनि निगरानी कडा पारिएको उहाँले बताउनुभयो। निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको जनाइएको छ।