• २१ फागुन २०८२, बिहिबार

‘नेवा–फ्लिक्स’ को घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २१ गते । नेपाल भाषाको पहिलो ओटिटी प्लेटफर्म ‘नेवा–फ्लिक्स’ को एक कार्यक्रमबिच घोषणा गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले विगतमा ‘पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका दिसँ’ भन्ने पम्प्लेट छाप्ने र भित्ते लेखनको समय सम्झनुभएको थियो । 

कार्यक्रममा कीर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जनले नेपाल भाषाका चलचित्र प्रदर्शनमा समस्या परे आफूलाई सम्झन आग्रह गर्नुभयो । विगतमा चलचित्रका रिल पाँच वटासम्म हुने तर भारतीय चलचित्रका रिल हजारभन्दा बढी हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले समयसँगै प्रिमियर र प्रदर्शनको स्वरूप परिवर्तन भएको बताउनुभयो । 

अहिले ओटिटी प्लेटफर्ममार्फत प्रदर्शन गर्ने प्रचलन बढ्दै गएको र नेपाल भाषा चलचित्र पनि यसै माध्यमबाट संसारभरका दर्शकमाझ पुग्ने विश्वास फोटोग्राफर राजभाइ सुवालको थियो । ‘बाँच्नु मात्र ठुलो कुरा होइन’, भन्ने धारणा राख्दै उहाँले नेपाल चलचित्र विकास बोर्डले ‘सिलु’ र ‘राजमती’ जस्ता कृति डिजिटलाइजेसन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल भाषाको पहिलो ओटिटी प्लेटफर्म  ‘नेवा–फ्लिक्स’ घोषणा कार्यक्रममा इलोहं प्रकाशनका प्रमुख सञ्चालक दर्शनवीर शाक्यले यस पहललाई नेपाल भाषा क्षेत्रमा नयाँ आयामका रूपमा व्याख्या गर्नुभयो ।  २०२२ सालतिर नेपाल भाषामाथि बन्देजको अवस्था रहेको स्मरण गर्दै अहिले समय परिवर्तन भइसकेको र समय अनुसार अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।