काठमाडौँ, फागुन २१ गते । विगतका निर्वाचनमा भन्दा यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मतको सङ्ख्या घट्ने विश्वास गरिएको छ । यस वर्ष ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा प्रभावकारी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेकाले बदर मत घट्ने आयोगको भनाइ छ ।
निर्वाचन आयोगले बदर मत घटाउने उद्देश्यसहित यस वर्ष मतदाता शिक्षा कार्यक्रममा जोड दिँदै आएको थियो । स्थानीय तहको समन्वयमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट सम्बन्धित स्थानीय तहको वडाका लागि मतदाता शिक्षा स्वयंसेवक नियुक्त गरी देशभरका वडामा घरदैलो तथा विद्यालय शिक्षा कार्यक्रम सञ्चालन भएकाले यस वर्ष बदर मतको सङ्ख्या कम हुने आकलन गरिएको हो ।
निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा विशेष कार्यक्रम अन्तर्गत गाउँपालिका र नगरपालिकाको वडा कार्यालयबाट गत फागुन ३ गतेदेखि १७ गतेसम्म घरदैलो तथा विद्यालयस्तर मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको थियो । आयोगका सूचना अधिकारी सुमन घिमिरेले यस वर्ष मतदाता शिक्षा कार्यक्रम घर घरमा नै पु¥याइएकाले मत बदर हुने सम्भावना धेरै कम मात्र भएको बताउनुभयो ।
आयोगका अनुसार यस वर्ष मतदाता शिक्षा विशेष कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहको निर्वाचन सम्पर्क व्यक्तिलाई अनुगमनकर्ता तोकिएको थियो । स्थानीय तहको समन्वय र सहकार्यमा मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायलगायतका विषयमा निर्वाचन आयोगले प्रशिक्षण प्रदान गरेको थियो । उम्मेदवार वा दलको चिह्नमा स्वस्तिक छाप लगाएको नमिल्दा मत बदर हुँदै आएको छ ।