• १३ साउन २०८१, आइतबार

भेटेरिनरीको नयाँ भवन बन्ने

blog

दोलखा समाचारदाता

चरीकोट, साउन ४ गते । ढिलै भए पनि लामो समयदेखि जीर्ण भवनमा सञ्चालन हुँदै आएको दोलखा र सिन्धुपाल्चोक कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरीकोटको नयाँ भवन निर्माण हुने भएको छ ।भूकम्पले भत्काएको जीर्ण भवन निर्माणका लागि बागमती प्रदेशबाट डेढ करोड रुपियाँ बजेट विनियोजन भएपछि भवन निर्माण हुने भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरीकोटका निमित्त प्रमुख पलट चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भवन निर्माणका लागि यो वर्ष चार लाख रुपियाँको लागतमा डीपीआर तयार गर्ने काम सम्पन्न भइसकेको छ । डीपीआरअनुसार भवन निर्माणमा चार करोड पाँच लाख रुपियाँ लाग्ने देखिएको छ । आएको बजेटले निर्माणसुरु भए पनि निर्माण पूरा भने नहुने देखिएको छ ।

यो वर्ष बोलपत्र आह्वान गरी भवन निर्माण कार्य अघि बढ्नेछ । यो भवन क्रमागत योजनाअन्तर्गत निर्माण हुनेछ । गत वर्ष कार्यालय भवन निर्माणका लागि डेढ करोड रुपियाँ बजेट विनियोजन भए पनि डीपीआरका लागि बजेट नहुँदा सो बजेट पूरै फिर्ता भएको थियो । 

दोलखा र सिन्धुपाल्चोक कार्यक्षेत्र रहेको सो कार्यालयले भूकम्पबाट क्षतिग्रस्त र जीर्ण भवनबाटै सेवा प्रवाह गर्नु परेको छ । प्रदेश सरकार मातहत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको पुराना चारवटा भवनबाट प्रशासनिक काम भइरहेको छ । भूकम्पपछि एउटा भवन जीर्ण बनेको, एउटा भवनमा कर्मचारी आवास र दुईवटा भवन पनि ससाना भएकाले कार्यसम्पादनमा समस्या भइरहेको कार्यालयका निमित्त प्रमुख चौधरीले बताउनुभयो । उहाँका अनुसार एउटा कोठाबाट धेरै कर्मचारी खचाखच बसेर सेवा दिनुपर्ने बाध्यता छ । दुईटा जिल्ला हेर्ने भेटेरिनरी अस्पताल भए पनि प्रशासनिक भवन नहुँदा कर्मचारीलाई काम गर्न सहज छैन ।