पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत ३ गते ।नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले प्रदेशभरि १५ वटा खुला व्यायामशाला निर्माण गर्ने भएको छ।
स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशले नसर्ने रोगको जोखिम न्यूनीकरण तथा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो योजना अघि सारेको हो।
हाल नेपालमा करिब ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगहरू रहेको तथ्याङ्कलाई आधार मानी नागरिकहरूलाई सक्रिय र स्वस्थ जीवनशैलीमा अभिप्रेरित गर्न मन्त्रालयले यो विशेष कार्यक्रम सञ्चालन गरेको हो।
मन्त्रालयका अनुसार प्रति व्यायामशाला आठ लाख ३२ हजार ८६६ का दरले बजेट विनियोजन गरिएको छ।पाल्पामा ६ स्थान , रुपन्देहीमा ३ स्थान र बाँके, पश्चिम नवलपरासी, दाङ, कपिलवस्तु, गुल्मी र रोल्पाः १र१ स्थानमा खुला व्यायामशाला निर्माण गर्ने भएको छ।
पश्चिम नवलपरासी जिल्लाको हकमा बर्दघाट नगरपालिका वडा नं. १४, धर्मबस्ती (सेन्टर प्लट बजार) यो कार्यक्रमका लागि छनोटमा परेको छ।
नवलपरासी जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष रितमान कामु मगरले बर्दघाट-१४, धर्मबस्तीमा खुल्ला व्यायामशाला निर्माण हुने भएपछि स्थानीय बासिन्दाहरूमा ठूलो उत्साह छाएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो,“स्थानीय नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी गरिएको यो पहलले धर्मबस्ती क्षेत्रका जेष्ठ नागरिक, महिला र युवाहरूलाई नियमित व्यायाम गरी स्वस्थ जीवनयापन गर्न ठूलो सहयोग पुग्नेछ।”
खुल्ला व्यायामशाला निर्माण भएपछि जेष्ठ नागरिक, महिला तथा युवाहरूलाई बिहान-बेलुका नियमित व्यायाम गर्न सहज हुने र यसले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने स्थानीयको विश्वास छ।
प्रचलित सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम आवश्यक उपकरण खरिद गरी आगामी २०८३ वैशाख मसान्तभित्र जडान कार्य सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गरिने मन्त्रालयको योजना छ।