• १३ असार २०८१, बिहिबार

ठेकेदार भागे, भवन र मजदुर अलपत्र

blog

नवराज श्रेष्ठ

रामेछाप, साउन ४ गते । जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ श-याको अस्पतालमा काम गर्ने मजदुरहरू भुक्तानी नपाएपछि समस्यामा परेका छन् । अस्पताल निर्माणको काम निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेपछि गत मङ्सिरदेखि मजदुरहरू भुक्तानी नपाएर समस्यामा परेका हुन् ।

जिल्ला सदरमुकाम मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शøयाको अस्पतालमा स्तरोन्नति गरी गत मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने गरी २०७८ भदौ १० गते शिलान्यास गरिएको थियो । शिलान्यास भएको ११ महिना पुग्न लागे पनि निर्माणको जिम्मा लिएको गाल्वा-लालशुभ मेन्द्रो जेभी काठमाडौँले २० प्रतिशत पनि काम नसकी अलपत्र छाडिदिएको छ । 

झन्डै दुई महिनादेखि काम रोकिएको र गत मङ्सिरदेखि काम गरेको ज्याला नदिई ठेकेदार सम्पर्कविहीन बनेपछि अहिले खान र बस्न समस्या भएको इलामका इन्द्रकुमार राईले बताउनुभयो । “सरकारी काम हो । भन्ने बित्तिकै भुक्तानी हुँदैन । भुक्तानी लिन लामो प्रक्रिया पूरा गर्नुपर्छ । काम गरेको सबै पैसा पाइन्छ भनेपछि ठेकेदारसँग पैसा पनि मागेनौँ । अहिले बिजोग बनाइदियो,” उहाँले भन्नुभयो । अर्का मजदुर सिन्धुलीका गोविन्द तोलाङ्गेले ठेकेदार फरार भएपछि पैसाको अभावमा तेलसमेत किन्न नसक्दा कोसीमा बगेर आएको दाउरामा आगो बालेर पानीमा तरकारी खाएर बस्नु परेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “चुनावका बेलामा एक दुई हजार पैसा दिएको थियो, त्यसबाहेक अरू पैसा पाएको छैन । गएको मङ्सिरदेखि काम गरेको पैसा लिनुपर्नेछ । घरपरिवार फोन गरेर पैसा चाहियो भन्छ, आफू यहाँ तेल किन्न नसकेर पानीमा पकाएको तरकारीसँग भात खाएर बसेको छु, खै हाम्रो समस्या कसले पो देख्छ र ?” 

विगत सात महिनादेखि काम गरेको ज्याला नपाएपछि इलामका इन्द्रकुमार राई र सिन्धुलीका गोविन्द तोलाङ्गेले जस्तै इलाम, खोटाङ, भोजपुर, सिन्धुली, रामेछापलगायत जिल्लाका ७८ जनाभन्दा बढी कामदारलाई पेट भर्न र सुत्ने ठाउँको समेत समस्या भएको हो ।

निर्माण कम्पनीका सञ्चालक सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण क्षेत्र आसपासका होटल तथा खाद्यान्न पसलहरूसमेत टाट पल्टने अवस्थामा पुगेका छन् । निर्माण कम्पनीका मानिस र इन्जिनियरहरू बसेको, खाएको सातदेखि आठ लाख रुपियाँ लिनुपर्नेमा जम्मा ८० हजार रुपियाँ दिएर ठेकेदार बेपत्ता भएको स्थानीय होटल व्यवसायी हमला श्रेष्ठ बताउनुहुन्छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (भवन) रामेछापमार्फत नौ करोड ३२ लाख ५० हजार ९८६ रुपियाँ लागतमा २०७८ जेठ ३० गते गाल्वा÷लालशुभ मेन्द्रो जेभी काठमाडौँसँग निर्माण सम्झौता भएको थियो । 

अहिले यो अस्पताल निर्माणको काम सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापमार्फत भइरहेको छ । अस्पताल भवन निर्माणको काम निकै सुस्त गतिमा भएको र अहिले आएर झन्डै दुई महिनादेखि काम अलपत्र अवस्थामा छाडेर ठकेदार सम्पर्कविहीन हुँदा अस्पतालको सेवा प्रवाहमा समेत प्रभाव परेको मन्थली अस्पतालका प्रमुख डा. समीर क्षेत्रीले बताउनुभयो ।निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा अब पाँच महिना पनि छैन । यो अवधिसम्म निर्माण कम्पनीले अस्पताल निर्माण क्षेत्रमा पर्खाल लगाउने र पिल्लरका लागि रड ठड्याउनेबाहेक अरू काम गरेको छैन । 

२०७८ असार १२ गते एक करोड ९६ लाख ९० हजार रुपियाँ भुक्तानी लगेपछि ठेकेदार आफूहरूको सम्पर्कमा नरहेको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका लेखा अधिकृत सुरेश दाहालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म यो कामबापत निर्माण कम्पनीले पेस्कीसहित दुई करोड ९० लाख १५ हजार ३५५ रुपियाँ भुक्तानी लिइसकेको छ । 

अस्पताल निर्माणमा ठेकेदारको हेपाहा प्रवृत्ति देखिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले बताउनुभयो । आफूहरूले जति ताकेता गर्दा पनि नटेरेकाले यस्ता ठेकेदारलाई स्थानीय प्रशासन, स्थानीय सरकार, राजनीतिक पार्टी, नागरिक समाज र सञ्चारमाध्ययमले खबरदारी गर्नुपर्ने उहाँले बताउनुभयो ।