• १८ फागुन २०८२, सोमबार

चुनावी प्रचारको अन्तिम दिन: बेनीमा उम्मेदवारको घरदैलो र दौडधुप

blog

बेनीमा घरदैलो गर्दै उम्मेदवार । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, फागुन १८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार अन्तिम चरणमा पुगेसँगै ग्रामीण बस्तीमा घरदैलो अभियानमा व्यस्त रहेका उम्मेदव सदरमुकाम बेनी झरेका छन् । निर्वाचन आचारसंहिताअनुसार राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने भएपछि उम्मेदवार तथा राजनीतिक दलका नेताहरू बजार क्षेत्रमा मतदाता भेटघाट र घरदैलोमा केन्द्रित भएका हुन् ।

माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि ग्रामीण क्षेत्रमा चुनावी कार्यक्रम लिएर पुगेका उम्मेदवारहरू आइतबारदेखि सदरमुकाममा सक्रिय भएका छन् । नेकपा (एमाले), नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चुनावी टोलीले बेनीबजारमा घरदैलो गरिरहेका छन् ।

स्वतन्त्र उम्मेदवार एवं निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले आज बेनीको खुलामञ्चमा चुनावी आमसभा आयोजना गर्नुभयो । सो अवसरमा उहाँले म्याग्दीका मतदाताले नयाँ अनुहार खोजेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।

नेपाली काङ्ग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) ले जिल्लाको विकास र लोकतन्त्रको रक्षाका लागि मतदाताहरू मतदान गर्न आतुर रहेको बताउनुभयो । यस्तै, नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले मतदाताले राजनीतिक स्थिरतासहित सडक, खानेपानी, सिँचाइ र रोजगारीका मुद्दा उठाएको उल्लेख गर्दै आफ्नो जित पक्का भएको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अर्जुन थापाले जिल्लाका सबै बस्तीमा चुनावी कार्यक्रम सकेर बजार झरेको जानकारी दिनुभयो । उहाँले धेरै कम्युनिस्ट पार्टीहरू मिलेर बनेको नेकपाप्रति मतदाताको ठुलो आशा रहेको बताउनुभयो ।


एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा कुल ८६ हजार ३९७ मतदाता छन्, जसमा ४२ हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना अन्य मतदाता रहेका छन् । निर्वाचनका लागि ८२ मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ । सुरक्षाका हिसाबले १५ वटालाई अति संवेदनशील, ५८ वटालाई संवेदनशील र आठवटा मतदानस्थललाई सामान्य भनी वर्गीकरण गरिएको छ ।