रामकृष्ण बोहरा
बागलुङ, फागुन १८ गते । घर छेउमा हुर्केका अग्ला र अनुत्पादक रुखमा बाँदरले बास बस्न थालेपछि हैरानीमा परेका यहाँका स्थानीयले रुख काट्न थालेका छन् ।
अनुत्पादक रुखले खेतबारीमा उत्पादन कम हुने र घरछेउकै रुखमा बास बस्ने बाँदरले सताउन थालेपछि बागलुङ नगरपालिका वडा १३ पैयुँपाटाबासीले रुख काट्न थालेका हुन् ।
बाँदर आतङ्कले खेती गर्न नपाएको, पाकेको बाली भित्र्याउन नपाएको र घरको ढोका समेत खुला राख्न नमिल्ने भएपछि कतिपय पैयुँपाटाबासीले बसाइसराई गरेका छन् । बाँदर बढेपछि स्थानीयले घरेलु उपायको खोजी गर्दै बाँदरलाई तत्काल धपाउने र नफर्कने बनाउन घर छेउका सबै बुट्यान र अनुत्पादक रुखहरु काट्ने निधो गरेका हुन् ।
चिलाउने, बकाइनो, टुनीजस्ता रुख र साना बुट्यान काटिएको स्थानीय प्रकाश पौडेलले बताउनुभयो । ‘‘रातभर रुखमै बस्ने र बिहानै घरभित्र पस्ने बाँदर आतंक रोक्न अनुत्पादक रुख कटान गरिएको हो’’ पौडेलले भन्नुभयो, ‘‘घरमा भण्डारण गरिएको अन्न खाइदिने खतरा अब कम होला, बारीमा व्यावसायिक तरकारी खेती गर्ने सोच बनाएको छु ।’’
रुख काट्ने अभियान साबिकको पैयुपाटा गाविसका वडा १ र २ मा सञ्चालन भइसकेको छ । अन्य वडाले पनि रुख काट्ने योजना बनाएका छन् । यो अभियानमा घर छाडेर अन्यत्र गएकाहरुको बारीका रुखबिरुवा पनि कटान गरिएको छ । बागलुङ नगरपालिका वडा १४ र वडा १३ का बस्तीमा रुख कटान थालिएको छ ।
रुख कटानपछि गाउँ छाडेर बसाइँ सर्नेहरुले पनि खाली जमिनमा तरकारी वा फलफूल लगाउने योजना बनाएका छन् । पैयुँपाटा क्षेत्रमा तरकारी, सुन्तला र अन्य फलफूल खेतीको प्रचुर सम्भावना छ ।
कृषि ज्ञान केन्द्र, नगरपालिकाको कृषि शाखामा खबर गरेर जमिनको उपयोगिताबारे छलफल चलाउने योजना बनाएको पौडेलले बताउनुभयो । ‘‘हामीले सामूहिक खेती लगाउने वा व्यक्तिगत रुपमा गर्नेबारे योजना बनाउन थालेका छौं’’ पौडेलले भन्नुभयो, ‘‘निर्वाचन समय भएकाले स्थानीयले राजनीतिक दललाई बाँदरको समस्याबारे बताएका छन् ।’’
दक्षिण बागलुङका अधिकांश क्षेत्र बाँदरको आतङ्कबाट प्रताडित छन् । ती स्थानमा बाँदरले नखाने वा नष्ट गर्न नसक्ने खालका कतिपय बोटबिरुवा र खेती लगाउन पहल गरिने स्थानीयबासीको योजना छ । बाँदरकै कारण वर्षेनी बसाइ सराई बढेकोले जैमिनीका अधिकांश ग्रामीण बस्ती खाली भइसकेको छ ।
बाँदरका कारण २०७८ मा ३१ हजार ४ सय ३० जनसंख्या रहेको जैमिनीमा अधिकांश वडाका बस्ती रित्तिएको छ । कुश्मीसेरा १ को टुनीबोट गाउँ त मानवविहीनजस्तै बनेको छ ।
बाँदर आतंकका कारण स्थानीयले बसाइ सर्नुपरेको गुनासो गरेका छन् । जैमिनी नगरपालिकाले बाँदर नियन्त्रण गर्न गतवर्ष विज्ञ सम्मेलन गरे पनि सम्भव नभएपछि जैमिनी –८ को पुरानो गाउँमा बाँदर पार्क बनाउने तयारी गरेको छ । त्यो काम बजेटका कारण अघि बढ्न सकेको छैन ।