इमान सिं राना
रामपुर (पाल्पा), फागुन १७ गते । पाल्पा क्षेत्र नं १ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद आचार्यलाई पितृशोक परेको छ। आचार्य चुनावी प्रचार–प्रसार र घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको समयमा बुवा दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा निधन भएको हो ।
आइतबार विहान उपचारको क्रममा तिलोत्तमा –५, रुपन्देहीस्थित क्रिमसन अस्पतालमा निधन भएको नेकपा (एमाले) का जिल्ला कमिटी सदस्य नवीन आचार्यले जानकारी दिनुभयो । स्वर्गीय आचार्यको चार छोरा र ३ छोरी हुनुहुन्छ । पूर्वखोला गाउँपालिका –३ निवासी स्वर्गीय आचार्य केही वर्षदेखि रुपन्देहीको तिलोत्तमा मणिग्राम बस्दै आउनुभएको थियो ।
स्वर्गीय आचार्यको कालीगण्डकी नदीस्थित रामनदीधाममा आजै अन्तिम संस्कार गरिएको परिवारका सदस्यले बताउनुभएको छ । विसं १९९० कात्तिक २६ मा जन्मिनुभएका आचार्य समाजमा सरल, मिलनसार र सम्मानित व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो । उम्मेदवार आचार्य पाल्पा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ।