• १७ फागुन २०८२, आइतबार

नोबेल मेडिकल लापरबाही मुद्दा : आज फैसला हुन सक्ने

blog

मोरङ जिल्ला अदालत

शशिधर पराजुली
विराटनगर, फागुन १७ गते ।
विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा गलत औषधीको प्रयोग गर्दा मृत्यु भएको विषयलाई लिएर दर्ता भएको चिकित्कीय लापरबाही मुद्दा अन्तिम फैसलाको चरणमा पुगेको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन यस मुद्दाको अन्तिम पेशी आज (आइबार)का लागि तोकिएको छ ।

सुनसरीको इनरुवाकी विमला थापा पोखरेलको मृत्युको विषयलाई लिएर परेको यो मुद्दामा अदालतले आवश्यक सबै प्रमाण र प्रक्रिया पूरा गरिसकेको छ । यस मुद्दामा मुख्य अधिवक्ताको रूपमा बहस गरिरहनुभएका अधिवक्ता सुविन पाण्डेका अनुसार, मुद्दाको फैसलाका लागि आवश्यक सबै ‘अंग’ पुगिसकेको छ ।

“अदालतले मागेका सबै प्रमाणहरू सङ्कलन भइसकेका छन् र साक्षीहरूको बकपत्र पनि सकिएको छ । त्यसैले फागुन १७ गतेको पेशीलाई अन्तिम मान्न सकिन्छ,” अधिवक्ता पाण्डेले भन्नुभयो । यद्यपि, प्रतिवादी पक्षले कानुनतः पेशी सार्न माग गरेमा भने पेसी सर्ने सम्भावना पनि छ ।

२०८१ साल माघ १० गते फोक्सो एवम् श्वासप्रश्वासको उपचारका लागि नोबेल अस्पताल भर्ना भएकी विमला थापा पोखरेललाई ढाडको दुखाइ कम गर्न भन्दै विशेषज्ञ डा. रामहरि घिमिरेले ‘मोर्फिन’ नामक औषधी सिफारिस गर्नुभएको थियो । मोर्फिन एक शक्तिशाली पेनकिलर हो, जुन सामान्यतया क्यान्सर वा गम्भीर दुखाइमा प्रयोग गरिन्छ । तर श्वासप्रश्वासका बिरामीका लागि यो औषधी घातक हुन सक्ने चिकित्सा विज्ञहरूको तर्क छ । सोही औषधीको प्रयोगपछि स्वास्थ्य अवस्था बिग्रिएर विमलाको मृत्यु भएको भन्दै उहाँका श्रीमान् महेश्वर पोखरेलले २०८१ चैत २० गते अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो ।

जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले यसअघि नै अस्पतालबाट उपचारका सम्पूर्ण सक्कल कागजात र मृत्युको कारणसहितको फाइल मगाउने आदेश दिएको थियो । साथै, नेपाल मेडिकल काउन्सिललाई ‘मोर्फिन इएनबी’ औषधीको कम्पोजिसन र यो कुन अवस्थामा प्रयोग गरिन्छ भन्ने विषयमा प्राविधिक जानकारी उपलब्ध गराउन आदेश दिइएको थियो । यी सबै प्रमाणहरू अदालतमा पेस भइसकेका छन् ।

पीडित पक्षले नेपालको संविधानको धारा ४२(२) र उपभोक्ता संरक्षण ऐनको दफा ३, ५० र ५१ बमोजिम पाँच करोड रुपियाँ क्षतिपूर्तिको माग गरेको छ । मोरङ जिल्लामै उपभोक्ता अधिकारअन्तर्गत चिकित्सा सेवामा लापरबाही भएको भन्दै दर्ता भएको यो पहिलो र ठुलो क्षतिपूर्ति दाबी गरिएको मुद्दा हो ।

यस मुद्दामा अधिवक्ता सुविन पाण्डेसँगै उपभोक्ता अधिकारवादी वरिष्ठ अधिवक्ता ज्योति बानियाँ र वरिष्ठ अधिवक्ता मानबहादुर रुम्दाली लगायतले बहस गरिरहनुभएको छ । चिकित्सा क्षेत्रमा हुने लापरबाहीमाथि प्रश्न उठाउँदै न्याय खोजिएको यो मुद्दालाई आम उपभोक्ता र नागरिक समाजले निकै चासोका साथ हेरिरहेका छन् ।