गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १७ गते । अमेरिका र इजरायल मिलेर इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन् । अमेरिका र इरानबिचको जेनेभा वार्ता असफल भएपछि शनिबार बिहानदेखि इरानको राजधानी तेहरानलगायत विभिन्न स्थानमा हवाई आक्रमण गरिएको हो ।
आफूमाथि भएको आक्रमणको प्रत्याक्रमण स्वरूप इरानले इजरायलसहित कतार, बहराइन, संयुक्त अरब इमिरेट्स र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । ती क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट पारिदिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । इरानले प्रत्याक्रमण गरेपछि मध्यपूर्वका सबै हवाई उडान प्रभावित भएको एपीले जनाएको छ ।
इजरायलले प्रहार गरेको क्षेप्यास्त्र दक्षिण इरानस्थित दुई विद्यालयमा विस्फोट हुँदा ५१ जना विद्यार्थी मारिएको कतारस्थित अल जजिरा टेलिभिजनले जनाएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ठुलो सैन्य कारबाही सुरु गरिएको बताउँदै यस अवसरमा त्यहाँको अतिवादी सत्ता परिवर्तन गर्न इरानी नागरिकलाई आह्वान गर्नुभएको छ ।
अमेरिकी समाचार संस्था एपीले दुई जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानमा भएको आक्रमणमा अमेरिकाको पनि संलग्नता रहेको बताएका छन् । गत वर्षको जुलाईमा इजरायल र इरानबिच युद्ध हुँदा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा भीषण आक्रमण गरेको थियो ।
त्यति बेला इरानका ठुला तीन वटा आणविक केन्द्रमा अमेरिकाले शक्तिशाली जिबियु–५७ बम खसालेको थियो । अमेरिकाले त्यति बेलै कामै नलाग्ने गरी ध्वस्त बनाएको भनिएका आणविक केन्द्रहरूमा परमाणु कार्यक्रम पुनः सञ्चालन भइरहेको सार्वजनिक भएपछि अमेरिकाले इरानलाई परमाणु कार्यक्रम रोक्न दबाब दिँदै आएको छ ।
ओमान र जेनेभामा पटक पटकको वार्ता भए पनि इरान सहमतिमा नआएपछि अमेरिकाले इरानतर्फ मध्यपूर्वका विभिन्न क्षेत्रमा अत्याधुनिक युद्धपोतसहितको सैन्य शक्ति तैनाथ गरेको छ ।
अमेरिकी टेलिभिजन संस्था सिएनएनले पनि अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेर इरानमा इजरायल र अमेरिकाले संयुक्त रूपमा आक्रमण गरेको जनाएको छ ।
तेहरानमा प्रत्यक्षदर्शीहरूले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालयनजिक पहिलो विस्फोटको आवाज सुनेको बताएका छन् । सहरको केन्द्र भागबाट धुवाँका बाक्लो मुस्लो उठेको देखिएको छ ।
८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र भए नभएको बारे तत्काल स्पष्ट हुन सकेको छैन । अमेरिकासँगको बढ्दो तनावका कारण उहाँ केही दिनयता सार्वजनिक रूपमा देखिनुभएको छैन ।
इरानी सरकारी टेलिभिजनले पनि विस्फोट भएको पुष्टि गको छ । यद्यपि हालसम्म भएको क्षतिबारे विवरण सार्वजनिक गरेको छैन । आक्रमणपछि इरानले आफ्नो हवाईक्षेत्र बन्द गरेको छ ।
इरानले यसअघि कुनै पनि आक्रमण भए अमेरिकी सैनिक र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडालाई निसाना बनाइने चेतावनी दिएको थियो । आफ्नो मुलुकमाथि आक्रमण भएसँगै इरानले जवाफी आक्रमण स्वरूप इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले विज्ञप्ति जारी गरी इरानबाट हानिएका क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारिरहेको जनाएको छ ।
इजरायलले इरानमा हमला गरेलगत्तै देशव्यापी आपत्काल घोषणा गरिसकेको छ । इरानमा हमला गरेलगत्तै इजरायलले हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय पारेको छ । आइडिएफले नागरिकहरूलाई सेनाको आह्वान र निर्देशन पालना गर्न आग्रह गरेको छ । “रक्षा प्रणाली पूर्ण अभेद्य हुँदैनन् । त्यसैले सर्वसाधारणले सेनाको अपिललाई पालना गर्नु अत्यावश्यक हुन्छ,” वक्तव्यमा भनिएको छ ।
इजरायली सञ्चार माध्यमले ठुलो सङ्ख्यामा इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र इजरायलको आकाशमा देखिएको जनाएका छन् । यो आक्रमणलाई इजरायलले अपरेसन रोअर लायन (सिंहको गर्जन) नाम दिएको छ ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले पछिल्ला दिनमा इरानको आणविक कार्यक्रम नियन्त्रणमा ल्याउने उद्देश्यले सम्झौता चाहनुभएको थियो । इरान भने युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार कायम राख्न चाहन्छ । उसले लामो दुरीका क्षेप्यास्त्र कार्यक्रम, हमास तथा हेजबुल्लाह जस्ता सशस्त्र समूहलाई दिइरहेको समर्थनबारे थप वार्ता गर्न इच्छुक देखिएको छैन ।
इजरायलले आक्रमण जारी राख्दा तेहरानमा थप विस्फोटका आवाज सुनिएको समाचारमा जनाइएको छ ।
इरान र इजरायलको भ्रमण नगर्न आग्रह
नेपाल सरकारले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायल र इरानको भ्रमण तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले शनिबार ट्राभल एड्भाइजरी जारी गर्दै दुवै देशको स्थिति सामान्य नभएसम्म भ्रमण नगर्न र त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन र सल्लाहको पूर्ण रूपमा पालना गर्न, सकेसम्म घरभित्रै रहन, सतर्कता अपनाउन, सावधानी अपनाउन र आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ ।
इजरायल र इरानका आधिकारिक निकायको पूर्वस्वीकृतिबिना यात्रा नगर्न, काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली राजदूतावासको सम्पर्कमा रहन, इजरायल वा इरान भ्रमणको योजना बनाएका नेपाली नागरिकलाई दुवै देशको स्थिति सामान्य नभएसम्मका लागि आफ्नो भ्रमण स्थगित गर्न, मध्यपूर्वका अन्य देशमा बसोबास गरिरहेका र कार्यरत नेपाली नागरिकलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्न आग्रह गरेको छ ।