नवीनराज कुइँकेल
लमजुङ, फागुन १७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं लमजुङका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अफवाह, झुट र उत्तेजनाले देश नबन्ने बताउनुभएको छ ।
उहाँले स्पष्ट दृष्टिकोण, स्थिर नेतृत्व र नीतिगत दृढताले मात्र देश बन्ने दावी गर्नुभयो । आइतबार मतदाताको नाममा सन्देश जारी गर्दै उपाध्यक्ष गुरुङले राष्ट्रलाई अराजकता, भ्रम र अस्थिरताबाट मुक्त गर्दै समृद्धिको दिशामा अघि बढाउन नेकपा (एमाले) को विजय अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले कुनै भ्रममा नपरी विवेकपूर्ण निर्णय गर्न सम्पूर्ण मतदातामा आग्रह गर्नुभएको छ । गुरुङद्वारा जारी सन्देशमा भनिएको छ, “फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन हाम्रो भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसर हो । लोकतन्त्रलाई अझ सुदृढ बनाउन र विकासको यात्रालाई निरन्तरता दिन यहाँहरू सबैमा सक्रियतापूर्वक मतदानमा सहभागी भई अमूल्य मताधिकार प्रयोग गर्नुहुन विनम्र अनुरोध गर्दछु ।”
उम्मेद्वारी दर्ता गरेदेखि निरन्तर मतदाताको घरआँगनमा उपस्थित रहेको र घरदैलो अभियानको क्रममा मतदाताले देखाउनुभएको माया, विश्वास र उत्साहले आफूलाई अझ दृढ र प्रतिबद्ध बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समयको सीमित्ताका कारण सबै टोलबस्तीमा पुग्न नसके पनि मेरो भावना, संकल्प र प्रतिबद्धता सधैं तपाईहरूसँगै रहेको विश्वास दिलाउन चाहन्छु ।”
लमजुङको विकास र समृद्धि आफ्नो राजनीतिक यात्राको मूल उद्देश्य रहेको गुरुङले बताउनुभएको छ । प्रदेशको मुख्यमन्त्री र संघीय सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारीमा रहँदा सुरु गरिएका थुप्रै विकासका कामहरु अझै अधुरो रहेको, त्यसलाई पूर्णता दिनु मेरो पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विकास, स्थायित्व र सुशासनलाई संस्थागत गर्दै समुन्नत लमजुङ निर्माण गर्नु मेरो प्रतिबद्धता हो । यस निर्वाचनमा मलाई विजयी गराउनुभयो भने अधुरा विकास कार्यहरू सम्पन्न गर्दै लमजुङलाई समृद्ध बनाउन समर्पणसाथ अघि बढ्नेछु । सरकारमा हुँदा होस् वा नहुँदा, म सधैं तपाईहरुसँगै रहनेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।”