शेरबहादुर सार्की
बाजुरा , फागुन १७ गते । बाजुराको सुरक्षा अवस्था बारे बुझ्न गृहमन्त्री ओमप्रकाश बाजुरामा पुग्नु भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुरक्षाको अवस्था बारे बुझ्न उहाँ नेपाली सेनाको हेलिकप्टर मार्फत आज दिउँसो बाजुरा पुग्नु भएको हो ।
यहाँका मतदान स्थलको अनुगमन तथा सुरक्षा अवस्थाको बारेमा प्रत्यक्ष जानकारी लिन मन्त्री बाजुरा पुग्नु भएको जिल्ला प्रशासन कार्र्यालय बाजुराले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आगामी फागुन २१ हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने गरी यहाँका सुरक्षा निकाय बीच छलफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन तयारी, सुरक्षा रणनीति र आवश्यक व्यवस्थापनका विषयमा यहाँका सम्बन्धित निकायका प्रमुखबीच छलफल भएको हो ।”
स्थानीय तह र सुरक्षा निकायबिच समन्वयलाई अझ प्रभावकारी बनाउँदै निर्वाचन प्रक्रिया व्यवस्थित र सुरक्षित बनाउने बारेमा विशेष छलफल भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।