• १८ फागुन २०८२, सोमबार

मिथिला माध्यमिकी परिक्रमाका सहभागी जनकपुरधाममा

blog

परिक्रमाका सहभागी जनकपुरधाममा । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, फागुन १८ गते । तराई–मधेश तथा मिथिला क्षेत्रको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरु आफनो सम्पुर्ण विश्राम स्थल पार गर्दै सोमबार जनकपुरधाम आइपुगेका छन् । 

जनकपुरधाम आइपुगेका मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरु मंगलबार विहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि यस वर्षको १५ दिवसीय मिथिला माध्यमिकि परिक्रमो समापन हुनेछ । प्रत्येक वर्ष फागुन शुल्कपक्ष प्रतिपदाका दिन धनुषाको मिथिला बिहारी नगरपालिका –८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट निस्कने मिथिला विहारी (भगवान राम) को डोला र जनकपुरधामको रत्न सागर र अगनीकुण्डस्थित मन्दिरबाट निस्कने किशोरी जी (माता सीता) को डोलासहित विभिन्न मठ मन्दिरवाट निस्कने भगवान राम–सीताको डोला जनकपुरधामको हनुमान गढीमा सोही दिन दिउसो पुगेको छ । 

सोपछि औपचारिकरुपमा परिक्रमाको सुरु भएको थियो । परिक्रमाका सहागीहरुले भारत विहारको कल्यानेश्वर, गृजास्थान, नेपालको मटिहानी, जलेश्वर, मडई, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही, भारत विहारको करुणा, विशौलसहितको विश्रामस्थल खाली खुटट पारगरी सोमबार जनकपुरधाम आइपुगेको हो । 

परिक्रममाका सहभागीहरुले यस १५ दिनको अवधिमा नेपालकोे ११ र भारत विहारको ४ गरी १५ वटा विश्राम स्थलमा विश्राम गरी खाली खुटट १३३ किलोमिटरको यात्रा तय गरेको छ । रामायणकालीन मिथिला माध्यमिकी परिक्रमालाई नेपाल र भारत विचको धार्मिक, साँस्कृतिक एवम् पारम्पारिक सदभावको अदभुत उदाहरणको रुपमा लिइएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले बताउनुभयो ।

 जनकपुरधाममा मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली खेल्ने चलन रहेको छ । परिक्रमाका सहभागीहरुको मध्यनजर गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको छ ।