हङकङ, फागुन १८ गते । इरानमा अमेरिका-इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजार गहिरो गिरावटमा पुगे ।
इस्लामिक गणतन्त्र इरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीसहित वरिष्ठ अधिकारीको ज्यान जाने गरी भएको हमलापछि ब्रेन्ट क्रुड सुरुवाती कारोबारमा झन्डै १४ प्रतिशत र वेस्ट टेक्सास इन्टरमिडियेट करिब १२ प्रतिशतले उक्लिएको थियो । विश्व समुद्री तेल आपूर्तिको करिब २० प्रतिशत बग्ने होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा अवरुद्ध भएको, केही जहाजमा आक्रमण भएको र बीमा लागत आकासिएको खबरले आपूर्ति अवरोधको डर झन् बढाएको हो ।
पछि केही लाभ घटे पनि कच्चा तेल नौ प्रतिशतभन्दा बढी माथि नै रह्यो भने युरोपेली ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले बढ्यो । टोकियो, हङकङ, सिङ्गापुर, मुम्बई, बैङ्कक, वेलिङ्गटन र ताइपेईका सेयर बजार राताम्मे देखिए । लन्डन झन्डै एक प्रतिशत घट्दा फ्रान्कफर्ट र पेरिसमा दुई प्रतिशतभन्दा बढी गिरावट आयो । साङ्घाई भने सामान्य सुधारमा रह्यो र सिड्नी स्थिरजस्तै देखियो । अमेरिकी मुद्रा प्रारम्भमा कमजोर बने पनि पछि सुरक्षित लगानीतर्फको आकर्षणका कारण डलर र सुन दुवै बढेका छन्, जसमा सुन झन्डै दुई प्रतिशतले उक्लिएको छ ।
क्षेत्रीय उडान रद्द हुन थालेपछि एयरलाइन्स कम्पनीको सेयरमा तीव्र गिरावट आयो । हङकङको क्याथे प्यासिफिक चार प्रतिशत, सिड्नीमा सूचीकृत क्वान्टास ५.४ प्रतिशत, सिङ्गापुर एयरलाइन्स ४.८ प्रतिशतले घटे । जापानका एएनए र जेएएल पनि पाँच प्रतिशतभन्दा बढी ओरालो लागे । यसको विपरीत ऊर्जा कम्पनी भने उक्लिए; अस्ट्रेलियाका वुडसाइड एनर्जी र सान्तोस छ प्रतिशतभन्दा बढीले बढे, पेट्रोचाइना करिब चार प्रतिशत माथि पुग्यो र जापानको इन्पेक्सले पनि उल्लेख्य वृद्धि गर्यो ।
इरानले औपचारिक रूपमा जलडमरूमध्य बन्द नगरे पनि रिभोलुसनरी गाड्र्सले जहाजलाई सावधानी अपनाउन चेतावनी दिएको छ । ओमान र युएईको तट नजिक दुई जहाज ठोक्किएको र एउटा तेल ट्याङ्करमा प्रहार भई डुबेको इरानी सञ्चार माध्यमले जनाएका छन् । प्रमुख ढुवानी कम्पनीले आफ्ना जहाजको मार्ग परिवर्तन गरिसकेको पुष्टि गरेका छन् । विश्लेषक अमेना बक्रका अनुसार अवस्था लम्बिए कच्चा तेलको मूल्य ९० डलर नाघ्न सक्छ र रणनीतिक भण्डारले पनि पूरै कमी धान्न नसक्ने जोखिम छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सरकारविरुद्ध उठ्न आह्वान गर्दै युद्ध ‘चार हप्ता’ सम्म लम्बिन सक्ने बताउनु भएको छ । तर इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखले संयुक्त राज्य अमेरिकासँग वार्ता नगर्ने स्पष्ट पार्नु भएको छ । इरान समर्थित हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनानमा पनि आक्रमण भएको खबरले द्वन्द्व थप फैलिन सक्ने चिन्ता बढाएको छ ।
स्याक्सो मार्केटका चारु चनानाका अनुसार ऊर्जा मूल्य उच्च रहिरहे मुद्रास्फीति फेरि चर्किन सक्छ र अमेरिकी फेडरल रिजर्भलाई ब्याजदर कटौतीमा सतर्क बनाउनेछ । क्लेप्लरकी विश्लेषक मिसेल ब्रोहार्डले उच्च तेल मूल्यलाई ट्रम्प प्रशासनको ‘एचकिलिस हिल’ को संज्ञा दिँदै अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा मूल्य वृद्धिले राजनीतिक दबाब बढाउन सक्ने बताउनुभयो ।
कतार विश्वको प्रमुख तरलीकृत प्राकृतिक ग्यास निर्यात कर्ता भएकाले ग्यास मूल्य वृद्धिले विश्व अर्थतन्त्रमा थप असर पार्ने आकलन गरिएको छ । पेरिसस्थित आइइएसइजी स्कुल अफ म्यानेजमेन्टका अर्थशास्त्री एरिक डोरका अनुसार तनाव छोटो अवधिमा सीमित रहे ठूलो असर नपर्न सक्छ, तर लामो समय कायम रहेमा बढ्दो ऊर्जा र ढुवानी लागतले विश्व आर्थिक वृद्धिमा मन्दीको छायाँ पार्न सक्छ । रासस/एएफपी