• १८ फागुन २०८२, सोमबार

निर्वाचन सुरक्षाका लागि धनकुटामा नेपाली सेनाको गस्ती

blog

कोकिला भण्डारी

धनकुटा, फागुन १८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न धनकुटा जिल्लाभर नेपाली सेनाले सुरक्षा गस्तीलाई तीव्र पारेको छ ।

भीमदल गण, सल्लेरी ब्यारेकका अनुसार धनकुटामा रहेका ११९ मतदानस्थल र १६६ मतदान केन्द्रमा सेनाको सुरक्षा टोलीले गस्ती गरिरहेको छ । एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाका सातवटै पालिकामा आवश्यकता अनुरूप सेना परिचालन गरिएको भीमदल गणले जनाएको छ ।

आपत्कालीन अवस्थाका साथै निर्वाचन सामग्रीको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षा गस्ती बढाइएको सेनाले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको धनकुटामा एक लाख १८ हजार ४२५ मतदाता छन् ।

जिल्ला निर्वाचन कार्यालय, धनकुटाले मतदातालाई सुरक्षित तवरले मतदान गर्ने व्यवस्था मिलाइएकाले निर्धक्क भई कसैको करकाप र दबाबमा नपरी आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गरेको छ।