• १८ फागुन २०८२, सोमबार

दाङको विकास र समृद्धिको नेतृत्व गर्छु : महासचिव पोखरेल

blog

रोड शोमा एमाले महासचिव पोखरेलसहित नेताहरु । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, फागुन १७ गते ।  नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले दाङको विकास र समृद्धिको लागि  साझा जनप्रतिनिधिका रुपमा आफूले नेतृत्व गर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) दाङ क्षेत्र नम्बर २ ले घोराहीमा  ‘रोड सो’ को आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै दाङको समृद्धिका लागि संकल्पपत्र तयार पारेर आफू निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले पाँच वर्षभित्र गर्ने कामको सूची तयार पारेर अगाडि बढेको बताउँदै सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन आग्रह गर्नुभयो । 

आफू राजनीतिक रूपमा स्थापित भइसकेको उल्लेख गर्दै पोखरेलले अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो । केन्द्रमा सशक्त उपस्थितिबिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने जिकिर गर्दै आफ्नो विजयले दाङको विकास समृद्धिको यात्रा निष्कर्षमा पुग्ने पोखरेलको भनाइ छ।

महासचिव पोखरेलले अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पुनः पछाडि फर्कनेबिचको महत्वपूर्ण छनोट भएको बताउनुभयो । पोखरेलले आफूले अघिल्लो कार्यकालमा अघि सारेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्दै बाँकी अधुरा योजनाहरू सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गर्नुभयो । उहाँले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरेको उल्लेख गर्नुभयो ।

दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै घोराही–तुलसीपुर चार लेन सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता उहाँको छ । घोराही–लमही सडक खण्डअन्तर्गत अर्जुनखोला–मसौट र चौपट्टा खण्डका चार लेन सडकको डीपीआर तयार भई वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

औद्योगिक विकासतर्फ ३५० बिघा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढेको र डिपिआर तयारी भइरहेको जानकारी दिँदै उहाँले ग्वार खोला हाई ड्याम तथा माडी डाइभर्सन आयोजनाका लागि बजेट विनियोजन र अध्ययन कार्य सुरु भएको बताउनुभयो । स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो । लमहीमा ट्रमा सेन्टर स्थापना प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । कृषि तथा सामाजिक पूर्वाधार क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत् उत्पादन वृद्धि र किसानको आयवृद्धिमा उपलब्धि हासिल भएकोे जानकारी दिनुभयो । पर्यटन तथा धार्मिक क्षेत्रको विकासतर्फ अम्बिकेश्वरी मन्दिर, छिल्लिकोट र धारपानीलगायत स्थानमा पूर्वाधार विस्तार गरिएको उहाँँले बताउनुभयो । भूमिहीनलाई लालपुर्जा वितरणका लागि आयोग गठन गरी काम सुरु गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

घोराहीको लखन पार्कबाट सुरु ‘रोड सो’ मा हजारौं समर्थकको सहभागीतामा घोराहीको मुख्य मुख्य बजारको परिक्रमा गरिएकोथियो । क्षेत्र नम्बर २ का गाउँ गाउँबाट आएका एमाले समर्थकले घोराही बजार भरिभराउ भएको थियो ।