बिष्णुप्रसाद पोखरेल
दमक, फागुन १८ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापामा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूले ’एकीकृत सुरक्षा योजना’ अन्तर्गत काम गरिरहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार झापाका कुल २८५ मतदान स्थलमध्ये ९५ वटालाई ’अति संवेदनशील’ सूचीमा राखिएको छ । प्रजिअ गेलालले १४७ स्थल ’संवेदनशील’ र ४३ वटा मतदान स्थल ’सामान्य’ रहेको जानकारी दिनुभयो । जिल्लाभर कुल ८१५ वटा मतदान केन्द्र तोकिएको छ ।
निर्वाचन सुरक्षाका लागि एकीकृत कमाण्ड अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ । झापामा १० हजारको हाराहारीमा सुरक्षाकर्मी खटिएका छन् । झापाको सुरक्षामा कुनै चिन्ता गर्नुपर्ने अवस्था छैन, गेलालले भन्नुभयो ।
५ वटा निर्वाचन क्षेत्रमा आवश्यकताका आधारमा सुरक्षाकर्मीहरु परिचालन भइसकेका छन् । केही दिनयता झापाको प्रमुख बजार तथा ग्रामीण क्षेत्रहरुमा समेत नेपाली सेनाहरु समेत देखिन थालेका छन् । नेपाली सेना आफ्ना सवारी साधनमा बाक्लो रुपमा गस्ति गर्दैआएका छन् ।
भारतसँग सिमा जोडिएका पालिकाहरु तथा मतदान केन्द्र र आसपासमा पनि सुरक्षाकर्मीहरुको विशेष शतर्कता रहेको जनाइएको छ । मंगलवार विहानबाट भारतसँगको सबै सीमा नाकाहरु बन्द गरिनेछ । सीमामा नेपाल र भारतका सुरक्षाकर्मीले समन्वय गरेर अहिले पनि कडाइ गरिरहेका छन् ।
पछिल्लो समयमा चोकबजार र गाँउ–गाँउमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिन थालेको छ । मतदाताहरुमा सुरक्षाको प्रत्याभुत हुनेगरी सुरक्षा ब्यवस्था मिलाइएको गेलाले जानकारी दिनुभयो ।